अन्नपूर्ण म्याराथनमा दलबहादुर र मञ्जु च्याम्पियन, पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान

घान्द्रुक (कास्की), जेठ २१। अन्नपूर्ण हिमालको आधार शिविर (एबिसी) बाट सुरु भएको छैटौं अन्नपूर्ण म्याराथन सफलतापूर्वक सम्पन्न भएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजित प्रतियोगितामा पुरुषतर्फ जुम्लाका दलबहादुर कुँवर तथा महिलातर्फ जुम्लाकी मञ्जु रावत च्याम्पियन बनेका छन्। ‘सबै मौसमका लागि पर्यटन’ भन्ने नारासहित आयोजित म्याराथनले अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धन, साहसिक खेलकुदको विकास तथा प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्याएको सरोकारवालाहरूले बताएका छन्।
समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु भएको ४२.१९५ किलोमिटर लामो म्याराथन घान्द्रुकस्थित मेश्रम बराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर सम्पन्न भएको थियो। प्रतियोगितामा ५१ जना धावक सहभागी थिए, जसमा ८ जना विदेशी र ४३ जना नेपाली धावक रहेका थिए।

पुरुषतर्फ दलबहादुर कुँवरले निर्धारित दूरी ४ घण्टा ४ मिनेट ११ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। उनले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। नेपाली सेनाका तिलकबहादुर सुनुवार ४ घण्टा १० मिनेट ८ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भए र नगद १ लाख रुपैयाँ प्राप्त गरे। सचिन गुरुङ तेस्रो, सोमिन गुरुङ चौथो तथा रोजन सिर्पाली पाँचौं स्थानमा रहे।
महिलातर्फ मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितिन्। उनले पनि नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। राज्यलक्ष्मी रावल दोस्रो तथा कल्पना बुढा तेस्रो भइन्। महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने तीनै जना धाविका जुम्लाका रहेका थिए।
म्याराथनको समापन समारोहलाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण म्याराथनले घान्द्रुक मात्र नभई समग्र अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको बताए। उनले कार्यक्रमलाई अझ व्यवस्थित, परिष्कृत र अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “यो स्थानीय स्तरबाट पर्यटन प्रवर्द्धन गर्ने ठूलो प्रयास हो। गाउँपालिकाले साझेदारको भूमिका निर्वाह गरेको छ,” उनले भने, “आवश्यक परे थप स्रोत व्यवस्थापन गरेर पनि कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिका तयार छ।”

अध्यक्ष केसीले गाउँपालिकाले पर्यटन सुरक्षालाई प्राथमिकतामा राख्दै बिरेठाँटीमा पर्यटन सूचना केन्द्र स्थापना गरेको तथा अन्नपूर्ण आधार शिविरतर्फ जाने पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ठाउँठाउँमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले गण्डकी प्रदेशको मुख्य पर्यटन आकर्षण हिमाल भएको उल्लेख गर्दै अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले म्याराथनलाई केवल धावकको सहभागितामा सीमित नराखी उनीहरूका परिवार तथा पर्यटकलाई समेत आकर्षित गर्ने विशेष पर्यटन प्याकेज विकास गर्न सुझाव दिए। “यस प्रतियोगिताको समापन भएको भोलिपल्टदेखि नै अर्को संस्करणको तयारी सुरु गर्नुपर्छ,” उनले भने, “नेपाल पर्यटन बोर्ड आवश्यक सहयोग गर्न सधैं तयार छ।”
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले म्याराथनले अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले विकास र संरक्षणबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै प्राकृतिक सम्पदा जोगाएर मात्र दिगो पर्यटन सम्भव हुने धारणा व्यक्त गरे। “पर्यटकको संख्या बढेको छ, तर बसाइँ अवधि र खर्च वृद्धि गर्न नयाँ सोच आवश्यक छ,” उनले भने, “अन्नपूर्ण क्षेत्रको मौलिकता र प्राकृतिक सौन्दर्य जोगाउनु आजको आवश्यकता हो।”
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष युवराज कुँवरले आफ्नो कार्यकालमा सुरु गरिएको अन्नपूर्ण म्याराथनको अवधारणाले निरन्तरता पाएकोमा खुसी व्यक्त गरे। उनले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने स्थानीय पर्यटन व्यवसायी, समुदाय, सरकारी तथा गैरसरकारी संस्थाप्रति आभार व्यक्त गरे।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङले अन्नपूर्ण म्याराथनलाई आगामी दिनमा अन्तर्राष्ट्रिय खेल–पर्यटन इभेन्टका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण फस्टको सफल आरोहण गरी विश्व पर्वतारोहण इतिहासमा नयाँ कीर्तिमान कायम गरेको ७६औँ वर्षगाँठको अवसरमा आयोजना गरिएको म्याराथनले खेल, पर्यटन र स्थानीय अर्थतन्त्रलाई जोड्ने प्रभावकारी माध्यमका रूपमा आफ्नो पहिचान स्थापित गरेको गुरुङले बताए। उनका अनुसार प्रतियोगिताको प्राविधिक व्यवस्थापन हिमालयन एक्स्ट्रीले गरेको थियो।
सहभागी धावकहरुको नाम

























