0Shares

मानव कल्याणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुँदै

काठमाडौं । मानव कल्याण, सामाजिक सेवा तथा परोपकारलाई केन्द्रमा राखेर आयोजना हुन लागेको “श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ” आगामी असार ८ गतेदेखि १६ गतेसम्म पशुपति क्षेत्र, काठमाडौंमा सञ्चालन हुने भएको छ। लायन्स क्लब अफ काठमाडौं परोपकारको आयोजनामा हुन लागेको महायज्ञले धार्मिक चेतनासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

महायज्ञकी संकल्पकर्ता लायन्स क्लब अफ काठमाडौं परोपकारका संस्थापक अध्यक्ष एवम् लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले धर्मलाई केवल पूजा–आराधनामा सीमित नराखी मानव सेवासँग जोड्नुपर्ने बताएकी छन्। उनका अनुसार महायज्ञको मूल उद्देश्य समाजका असहाय, विपन्न तथा पीडित समुदायसम्म सहयोग पुर्‍याउनुका साथै शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउनु हो।

“परोपकारको महाअभियानलाई जनस्तरसम्म पुर्‍याउँदै सेवा, संस्कार र सहकार्यको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनु हाम्रो लक्ष्य हो। मानवताको हितमा गरिने प्रत्येक प्रयास नै साँचो धर्म हो,” पाण्डेले बताइन्।

उनले धार्मिक अनुष्ठानलाई सामाजिक उत्तरदायित्वसँग जोडेर युवापुस्तालाई सेवा र स्वयंसेवाको संस्कृतिमा प्रेरित गर्नुपर्नेमा जोड दिइन्। “मानव कल्याणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक छ। सामूहिक योगदानले मात्र दिगो विकास र समृद्ध समाज निर्माण सम्भव हुन्छ,” उनको भनाइ छ।

महायज्ञमा प्रसिद्ध कथावाचिका पूज्या देवी सुशी मानवद्वारा श्रीमद्भागवत कथा वाचन हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ। दैनिक बिहानदेखि साँझसम्म सञ्चालन हुने कार्यक्रममा वैदिक पूजा, भागवत पाठ, भजन–कीर्तन, प्रवचन, सम्मान तथा विभिन्न सामाजिक सेवामूलक गतिविधि समावेश गरिएका छन्।

आयोजकका अनुसार महायज्ञ अवधिभर निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, राहत वितरण, खाद्यान्न सहयोग तथा मानव सेवासँग सम्बन्धित विविध अभियानहरू सञ्चालन गरिनेछन्। यसबाट संकलित सहयोगलाई सामाजिक कल्याणका कार्यमा उपयोग गरिने जनाइएको छ।

पशुपति क्षेत्रको आध्यात्मिक वातावरणमा आयोजना हुने महायज्ञले धार्मिक आस्था, सामाजिक उत्तरदायित्व र मानवीय सेवाबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकको छ।

“परोपकारको महाअभियान, मानव कल्याणका लागि हाम्रो सामूहिक योगदान” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस महायज्ञमा भक्तजन, समाजसेवी, उद्योगी–व्यवसायी, युवा तथा सर्वसाधारणलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected