0Shares

पोखरा, जेठ २६ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने बहुप्रतीक्षित अपेक्षाले मूर्त रूप लिन थालेको छ। संयुक्त अरब इमिरेट्सको फ्लाई दुबई एयरलाइन्सले आगामी २३ सेप्टेम्बर २०२६ देखि पोखरा–दुबई रुटमा दैनिक उडान सञ्चालन गर्न आवश्यक अनुमति प्राप्त गरेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनको ढोका खुलेको हो।

उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी प्राविधिक निरीक्षण सफलतापूर्वक सम्पन्न भएपछि फ्लाई दुबईलाई नियमित उडानका लागि अनुमति प्रदान गरिएको जनाइएको छ। यससँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्थापित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो सञ्चालन यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यो उपलब्धिलाई पोखराको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका तथा विश्वका ३०० भन्दा बढी गन्तव्यसँग पोखराको पहुँच विस्तार हुनेछ।

“यो केवल एउटा नयाँ हवाई सेवा थपिएको विषय होइन,” मेयर आचार्यले भनेका छन्, “यो पोखराको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तार, अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने महत्वपूर्ण अवसर हो।

उनका अनुसार पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि विभिन्न निकायसँग लामो समयदेखि निरन्तर पहल र समन्वय हुँदै आएको थियो। उक्त प्रयासले अहिले सकारात्मक परिणाम दिएको उनको भनाइ छ।

मेयर आचार्यले यस अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने नेपाल नागरिक उड्डयन प्राधिकरण, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल, युनिभर्सल ट्राभल्सका अध्यक्ष पराशर प्रसाई तथा सम्पूर्ण सरोकारवाला निकायप्रति आभार व्यक्त गरेका छन्।

उनले प्रारम्भिक चरणमा उडानलाई व्यावसायिक रूपमा सफल बनाउन पर्यटन व्यवसायी, होटल व्यवसायी, ट्राभल तथा ट्रेकिङ क्षेत्र, उद्योगी–व्यवसायी, पोख्रेली नागरिक तथा विदेशमा रहेका नेपालीहरूलाई पोखरा–दुबई रुट प्रयोग गर्न आग्रह गरेका छन्।

“सुरुआती एक महिना चुनौतीपूर्ण हुन सक्छ। त्यसैले यो सेवा दीर्घकालीन रूपमा सञ्चालन हुने वातावरण बनाउन सबैले आफ्नो ठाउँबाट योगदान दिन आवश्यक छ,” उनले भने।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडानको सम्भावना बलियो बनेको छ। पर्यटनको राजधानीका रूपमा चिनिने पोखरा प्रत्यक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोडिँदा गण्डकी प्रदेशको पर्यटन, व्यापार, लगानी तथा रोजगारीका क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

स्थानीय पर्यटन व्यवसायीहरूले पनि फ्लाईदुबईको नियमित उडानले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग प्रत्यक्ष रूपमा जोड्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार यसले विदेशी पर्यटक आगमन वृद्धि गर्नाका साथै पोखरालाई दक्षिण एसियाकै आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न थप सहयोग पुग्नेछ।

पोखराबाट दुबईसम्मको प्रत्यक्ष उडान केवल एउटा हवाई सेवा विस्तारको विषय नभई समग्र गण्डकी प्रदेशको आर्थिक तथा पर्यटन विकाससँग जोडिएको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अब यो अवसरलाई दिगो सफलतामा रूपान्तरण गर्ने जिम्मेवारी सरकार, निजी क्षेत्र र आम नागरिक सबैको साझा दायित्व बनेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected