0Shares

पोखरा, २८ जेठ । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले प्रविधिको तीव्र विकाससँगै आमसञ्चार क्षेत्रमा यसको सही, जिम्मेवार र प्रभावकारी प्रयोग अनिवार्य भएको बताएका छन् । गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रेस रजिष्ट्रार कार्यालयले बिहीबार पोखरामा आयोजना गरेको ‘आमसञ्चार क्षेत्रका प्राविधिकहरूको क्षमता अभिवृद्धि कार्यक्रम’ उद्घाटन गर्दै उनले बदलिँदो प्रविधिलाई आत्मसात् गर्दै सञ्चार क्षेत्रलाई समयानुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।

सभामुख धितालले सञ्चार क्षेत्रको विकास र सुदृढीकरणका लागि प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समयसापेक्ष कार्यक्रम ल्याएकोमा प्रेस रजिष्ट्रार कार्यालयलाई धन्यवाद व्यक्त गरे । उनले प्रविधिको दुरुपयोग हुन नदिई यसको सदुपयोगमार्फत समाचार तथा सूचना प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । “प्रविधि आजको आवश्यकता मात्र नभई सञ्चार क्षेत्रको महत्वपूर्ण आधार पनि हो । यसलाई सही ढंगले प्रयोग गर्न सकिए सञ्चार माध्यमको विश्वसनीयता र प्रभावकारिता थप मजबुत बन्न सक्छ,” उनले भने ।

कार्यक्रमको अध्यक्षता गर्दै गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले सञ्चारमाध्यममा पर्दापछाडि रहेर काम गर्ने प्राविधिकहरू संस्थाका ‘रियल हिरो’ तथा मेरुदण्ड भएको बताइन् । पत्रकारहरूका लागि विभिन्न तालिम कार्यक्रम सञ्चालन हुँदै आए पनि प्राविधिकहरूलाई लक्षित गरी आयोजना गरिएको यो पहिलो कार्यक्रम भएको उल्लेख गर्दै उनले सञ्चार संस्थाभित्र नेपथ्यमा रहेर महत्वपूर्ण योगदान पु¥याउने जनशक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।

उनले सञ्चार क्षेत्रमा तीव्र गतिमा भइरहेको प्रविधिगत परिवर्तनसँगै समाचार तथा सामग्रीलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न सक्ने दक्ष जनशक्ति तयार पार्नु आवश्यक रहेको बताइन् । “प्रविधिले सञ्चार क्षेत्रलाई नयाँ मोडमा पु¥याएको छ । आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट पाठक, श्रोता र दर्शकलाई थप विश्वसनीय तथा आकर्षक सामग्री दिन सकिन्छ,” उनले भनिन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले सञ्चारमाध्यमका प्राविधिकहरूलाई संस्थाको ‘मुटु’को संज्ञा दिँदै उनीहरूको भूमिका दिनप्रतिदिन महत्वपूर्ण बन्दै गएको बताए । उनले सञ्चार संस्थाको दिगोपना र गुणस्तरीय सामग्री उत्पादनका लागि पत्रकार, सञ्चालक र प्राविधिकबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केबी रानाले गण्डकी प्रदेशले पहिलो पटक प्राविधिकहरूको आवश्यकता महसुस गरी यस्तो कार्यक्रम आयोजना गर्नु प्रशंसनीय रहेको बताए । उनले हाल मिडिया क्षेत्रमा देखिएको आर्थिक संकटप्रति चिन्ता व्यक्त गर्दै सञ्चारमाध्यमलाई सबल र सक्षम बनाउन राज्यले थप सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका स्रोत व्यक्ति बाबुराम अर्याल, सुवास अमगाईं र इन्जिनियर विवेक घिमिरेले अखबार, रेडियो तथा टेलिभिजनमा कार्यरत प्राविधिकहरूलाई प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणमा विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) का अवसर, डिजिटल प्रविधिको प्रयोग, सामग्री उत्पादनका नयाँ प्रवृत्ति तथा पाठक, श्रोता र दर्शकमाझ सञ्चार सामग्रीलाई विश्वसनीय र आकर्षक बनाउने विषयमा केन्द्रित प्रस्तुति दिइएको थियो ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका सञ्चार क्षेत्रका प्राविधिकहरूको सहभागिता रहेको उक्त कार्यक्रमलाई प्रदेशको सञ्चार क्षेत्रमा नयाँ र ऐतिहासिक सुरुवातका रूपमा हेरिएको छ । प्रेस रजिष्ट्रार कार्यालयले आफ्नो वार्षिक विकास कार्यक्रमअन्तर्गत सञ्चार क्षेत्रको व्यावसायिकता, दक्षता अभिवृद्धि तथा प्राविधिक सुदृढीकरणका लागि कार्यक्रम आयोजना गरेको कार्यक्रम सञ्चालक प्रेस रजिष्ट्रार कार्यालयका अधिकृत राजेश पौडेलले जानकारी दिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected