
पोखरा । पोखरा महानगरका तीन क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा क्याम्पस परिवारले युनाइटेड रेफरेन्स ल्याबोरेटोरी प्रालि (यूआरएल) का सेवामा विशेष छुट पाउने भएका छन्।
गण्डकी प्रदेशकै पहिलो तथा एकमात्र आईएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब यूआरएल र कालिका बहुमुखी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस तथा सृजना बहुमुखी क्याम्पसबीच छुटसम्बन्धी छुट्टाछुट्टै सम्झौता भएको हो।
सम्झौताअनुसार ती क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारी, क्याम्पस सञ्चालक समितिका सदस्य तथा सिनेटरले यूआरएलमा गरिने सबै रगत परीक्षणमा ३० प्रतिशत छुट पाउनेछन्। छुट सुविधा लिन सम्बन्धित क्याम्पसले जारी गरेको परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ। यो सम्झौता २०८५ जेठसम्म लागू रहने यूआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार गुणस्तरीय, विश्वसनीय र सहज स्वास्थ्य परीक्षण सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले यूआरएलले विभिन्न संघ–संस्था तथा शैक्षिक प्रतिष्ठानसँग यस्ता सहकार्य गर्दै आएको छ।
“आगामी दिनमा पनि यस्तै सहकार्य र साझेदारीमार्फत समुदायको स्वास्थ्य प्रवर्द्धनमा थप योगदान पुर्याउनेछौँ,” कोइरालाले भने।
यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले गण्डकी प्रदेशकै अग्रणी रेफरेन्स ल्याबका रूपमा सहज, सरल र गुणस्तरीय सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा समेत संस्थाले प्राथमिकता दिएको बताए।
करिब १३ वर्षअघि स्थापना भएको यूआरएलले हाल गण्डकी प्रदेशका २४ स्थानबाट सेवा प्रदान गर्दै आएको छ।



























