संस्थापक अध्यक्ष भवानी श्रेष्ठ सम्मानित, अस्मिता–महेशको प्रस्तुतीले झुम्यो पोखरा लेडी जेसीजको ३८औँ वार्षिकोत्सव

पोखरा, असार ५ । महिला नेतृत्व विकास, सामाजिक सेवा र सशक्तीकरणको अभियानलाई निरन्तरता दिँदै आएको पोखरा लेडी जेसीजले आफ्नो ३८औँ वार्षिकोत्सव विशेष समारोह तथा सांगीतिक साँझ सम्पन्न गरेको छ। पर्स्याङस्थित ताजमहल पार्टी प्यालेसमा शुक्रबार आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष जेसी भवानी श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो भने चर्चित गायक–गायिका अस्मिता अधिकारी र महेश काफ्लेको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमको अध्यक्षता पोखरा लेडी जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी सुनिता गौतम भण्डारीले गरेकी थिइन्। कार्यक्रमको संयोजन जेसी बबिता केसीले गरेकी थिइन् भने सञ्चालन महासचिव जेसी सिर्जना आले ईसा र कोषाध्यक्ष जेसी रेजिना कटुवालले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्ष, सदस्य, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, राजनीतिक व्यक्तित्व तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको प्रमुख आकर्षण सन् १९८९ मा पोखरा लेडी जेसीजको स्थापना गरी संस्थाको पहिलो अध्यक्षको रूपमा नेतृत्व सम्हालेकी जेसी भवानी श्रेष्ठको विशेष सम्मान रह्यो। महिलाहरूको सार्वजनिक तथा नेतृत्वदायी भूमिकामा सहभागिता सीमित रहेको समयमा संस्था स्थापना गरी महिला सशक्तीकरणको अभियानलाई अघि बढाएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको हो।

सम्मान ग्रहणपछि बोल्दै श्रेष्ठले संस्थाको वर्तमान अवस्था र उपलब्धिप्रति गर्व व्यक्त गरिन्। उनले विगत तीन दशकभन्दा लामो यात्रामा संस्थाले महिला नेतृत्व विकास, सामाजिक सेवा तथा व्यक्तित्व विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको बताउँदै आगामी दिनमा पनि संस्था अझ सशक्त र प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा वर्ष १९९५/९६ का अध्यक्ष अर्चना प्रधानले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थागत सहयोगस्वरूप १० हजार रुपैयाँ प्रदान गरिन्। उनले पोखरा लेडी जेसीजले समाजमा सकारात्मक परिवर्तनका लागि खेलेको भूमिका उदाहरणीय रहेको उल्लेख गरिन्।

त्यसैगरी पोखरा जेसीजका अध्यक्ष सुमन पहारीले महिला नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन तथा सामाजिक रूपान्तरणमा पोखरा लेडी जेसीजले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे। उनले महिला सहभागिता र नेतृत्व बिना समावेशी विकास सम्भव नहुने धारणा राख्दै आगामी दिनमा समेत सहकार्य जारी रहने बताए।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले पोखरा लेडी जेसीजले समाज परिवर्तन र महिला सशक्तीकरणका क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको बताइन्। उनले महिला नेतृत्व विकासका लागि संस्थाले सञ्चालन गरेका कार्यक्रमहरू प्रभावकारी रहेको उल्लेख गर्दै मन्त्रालय तथा आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री गुरुङले महिलाहरूलाई नेतृत्वमा स्थापित गर्न यस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै सरकार र सामाजिक संस्थाबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा राखिन्।
अध्यक्ष सुनिता गौतम भण्डारीले संस्थाले यस वर्ष महिला खेलाडीहरूको प्रोत्साहन र सशक्तीकरणलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिइन्। उनले वार्षिकोत्सव कार्यक्रमबाट संकलित रकम प्रतिभाशाली तथा आर्थिक रूपमा सहयोग आवश्यक रहेका महिला खेलाडीहरूको हितमा अक्षय कोष स्थापना गर्न प्रयोग गरिने बताइन्।
उनले खेलकुद क्षेत्रका महिलाहरूलाई प्रोत्साहन गर्दै उनीहरूको क्षमता अभिवृद्धि र भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको स्पष्ट पारिन्।
कार्यक्रममा आयुस्मा पुलामी, ईसा शेर्पा, महिमा अधिकारी, दीपिशा थापा, नसिबी परियार र रश्मीले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिले कार्यक्रमको सुरुआतमै उल्लासमय वातावरण सिर्जना गरेको थियो।
हालै सम्पन्न ‘किड्स डान्स च्याम्पियन्स–गण्डकी प्रदेश’ प्रतियोगितामा तृतीय रनरअप बन्न सफल आयुस्मा पुलामीको विशेष नृत्य प्रस्तुतीले दर्शकको विशेष प्रशंसा बटुलेको थियो। बाल प्रतिभाको प्रस्तुतीले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।
वार्षिकोत्सवको अवसर पारेर पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष तथा सदस्यहरूका एसईई उत्तीर्ण छोराछोरीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा प्रितम पहारी, आयुष सिंह भण्डारी, कृतिना अधिकारी, ऋकृष्ण पाण्डे र आयुषा पोखरेल रहेका थिए।
त्यस्तै एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सदस्यका सन्तानलाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न यस्तो सम्मान कार्यक्रम आयोजना गरिएको जनाइएको थियो।

कार्यक्रमको अर्को मुख्य आकर्षण चर्चित गायक–गायिका अस्मिता अधिकारी र महेश काफ्लेको सांगीतिक प्रस्तुति रह्यो। उनीहरूले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।
उनीहरूले ‘तिम्रो मायाले बाँधेर राख’, ‘टाढा भए पनि मेरो माया गाढा छ’, ‘को होला त्यो’, ‘त्यो तिम्रो बोलीले’, ‘असारे महिना सिमसिमे पानी’, ‘भेट्न नआऊ रातीमा’, ‘लज्जावती झारझैँ लजाउँछ्यौ’, ‘अलि वर आउ’ तथा ‘ससुराली जाँदा साली मनपर्यो’ लगायतका चर्चित गीतहरू प्रस्तुत गरेका थिए। कलाकारहरूको ऊर्जावान प्रस्तुतिमा सहभागीहरू गीतसँगै नाच्दै र गुनगुनाउँदै रमाएका थिए।
कार्यक्रममा शाखा अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। अध्यक्ष सुनिता गौतम भण्डारीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण अतिथि, कलाकार, पूर्व अध्यक्ष, सदस्य, सहयोगी संस्था, प्रायोजक तथा दर्शकप्रति हार्दिक आभार व्यक्त गरिन्।
समापन मन्तव्यका क्रममा उनले सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वको यात्रामा पोखरा लेडी जेसीजले आगामी दिनमा अझ उल्लेखनीय सफलता हासिल गर्दै समाजमा सकारात्मक परिवर्तनको दीप प्रज्वलित गरिरहने विश्वास व्यक्त गरिन्। उनले संस्थाको गौरवपूर्ण इतिहासलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने अभियानलाई निरन्तरता दिइने समेत बताइन्।
३८ वर्षको गौरवपूर्ण यात्रा पार गरेको पोखरा लेडी जेसीजले महिला सशक्तीकरण, नेतृत्व विकास र सामाजिक सेवाका क्षेत्रमा आफ्नो सक्रियता कायम राख्दै आगामी दिनमा पनि समाज रूपान्तरणको अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।




























