
पोखरा, असार ७ । अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा आइतबार बिहान पोखरा रंगशालामा विशेष योग कार्यक्रम सम्पन्न भएको छ। “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सयौं सहभागीले सामूहिक योगाभ्यास गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगले शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र सकारात्मक जीवनशैली निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताए। नियमित योगाभ्यासले तनाव, चिन्ता तथा विभिन्न नसर्ने रोगहरूको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

मुख्यमन्त्री पाण्डेले योग मानव स्वास्थ्यका लागि मात्र नभई नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने माध्यमसमेत बनेको उल्लेख गरे। उनले योगको विश्वव्यापी विस्तारले दुवै देशबीचको सदियौं पुरानो सम्बन्धलाई अझ मजबुत बनाएको धारणा व्यक्त गरे।
कार्यक्रमको समापनमा भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव वसिष्ठ नन्दनले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय तथा सहभागीप्रति आभार व्यक्त गरे।
हरेक वर्ष जुन २१ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय योग दिवसले योगमार्फत स्वस्थ, सन्तुलित र अनुशासित जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास गरिएको छ। यस वर्षको “स्वस्थ वृद्धावस्थाका लागि योग” नाराले बढ्दो उमेरसँगै स्वस्थ, सक्रिय र गुणस्तरीय जीवनयापनका लागि योगको महत्वलाई विशेष रूपमा उजागर गरेको छ।
भारतीय राजदूतावास, काठमाडौंको आयोजनामा तथा पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् नेपाल र कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्यमा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, खेलकुदकर्मी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।




























