0Shares

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको छ।

गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले आइतवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा हाल नागरिकलाई प्रदान गरिँदै आएको ७१.४३ प्रतिशत स्वास्थ्य बीमा प्रिमियम अनुदानलाई बढाएर २०८३ साउन १ गतेदेखि शतप्रतिशत पुर्‍याइने उल्लेख गरिएको छ। यससँगै पालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउन प्रत्येक वडामा व्यापक जनचेतना तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ।

अध्यक्ष केसीका अनुसार स्वास्थ्य बीमालाई प्रभावकारी बनाउँदै नागरिकको उपचारमा आर्थिक भार कम गर्ने लक्ष्यसहित यो निर्णय गरिएको हो। पालिकाले स्वास्थ्य बीमासँग समन्वय गरेर आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने नीति पनि अघि सारेको छ।

नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्वास्थ्य संस्थाहरूलाई थप स्रोत–साधन सम्पन्न बनाउने, दक्ष प्रसूतिकर्मीको व्यवस्था गर्दै संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्ने तथा घरमै प्रसूति हुने प्रचलनलाई निरुत्साहित गर्ने उल्लेख छ। सुत्केरी भेटघाट कार्यक्रममा सरसफाइ सामग्रीसहितको उपहार प्याकेट उपलब्ध गराउने व्यवस्था समेत गरिने भएको छ।

गर्भवती महिलाका लागि भिडियो एक्स–रे तथा आवश्यक प्रयोगशाला सेवा नियमित रूपमा सञ्चालन गरिने, “आपतकालीन सुरक्षित मातृत्व कोष” स्थापना गरिने तथा मातृ–शिशु स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाइने नीति पनि सार्वजनिक गरिएको छ।

पालिकाको १५ शैय्याको आधारभूत अस्पताललाई थप सुदृढ बनाउँदै चिकित्सक र रेडियोग्राफरसहितको जनशक्ति थप गर्ने, स्वास्थ्य बीमाको पहिलो सेवा केन्द्रका रूपमा विकास गर्ने तथा पोखराका विशेषज्ञ अस्पतालहरूसँग समन्वय गरी साप्ताहिक विशेषज्ञ सेवा उपलब्ध गराउने तयारी गरिएको छ।

त्यसैगरी, सबै वडामा स्वास्थ्य सेवाको पहुँच विस्तार, क्यान्सर परीक्षण शिविर सञ्चालन, विद्यालय स्वास्थ्य कार्यक्रम, किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा, खोप कार्यक्रम सुदृढीकरण, एम्बुलेन्स सेवा विस्तार तथा संक्रामक र नसर्ने रोग नियन्त्रणका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ।

गाउँपालिकाले आर्थिक रूपमा विपन्न, अशक्त तथा सीमान्तकृत समुदायलाई प्राथमिकताका साथ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै “कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्” भन्ने उद्देश्यलाई आगामी वर्षको प्रमुख स्वास्थ्य नीतिका रूपमा अघि सारेको छ।

स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने निर्णयलाई अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य सुरक्षातर्फको दूरगामी र नागरिकमैत्री कदमका रूपमा प्रस्तुत गरेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected