
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट गिरफ्तार गरिएको घटनाको कडा विरोध गर्दै सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप लगाएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा पौडेलको गिरफ्तारीलाई गैरकानुनी, बदनियतपूर्ण तथा राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा व्याख्या गरिएको छ।
आइतबार जारी वक्तव्यमा एमालेले साङ्गठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका पौडेललाई सरकारले “अपहरणको शैलीमा” गिरफ्तार गरेको दाबी गर्दै उक्त कदमको घोर निन्दा र भर्त्सना गरेको जनाएको छ। पार्टीले विधिको शासन, कानुनी राज्य र सुशासनप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै वर्तमान सत्तापक्षले विपक्षी दलहरूमाथि अराजनीतिक तथा अलोकतान्त्रिक व्यवहार गरिरहेको आरोप लगाएको छ।
वक्तव्यअनुसार पौडेल कार्यक्रम सम्पन्न गरी भोलिपल्ट काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिकामा रहेका थिए। सामान्य कानुनी प्रक्रियाअनुसार सोधपुछ वा अनुसन्धान गर्न सकिने अवस्था हुँदाहुँदै गिरफ्तार गरिएको भन्दै एमालेले सार्वजनिक पदमा रहिसकेका र कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई “सस्तो राजनीतिक खपत” का लागि लक्षित गरिएको आरोप लगाएको छ।
एमालेले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको दाबी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। साथै, सरकारका स्वेच्छाचारी तथा लोकतन्त्रविरोधी क्रियाकलापविरुद्ध एकजुट हुन देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई आह्वान गरेको छ।
अध्यक्ष ओलीद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, “वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो। यो दमनकारी कदम र हाम्रो पार्टीमाथि लगातार भइरहेको श्रृङ्खलाबद्ध प्रहार तथा राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ।”
एमालेले सरकारलाई लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी प्रक्रियाको सम्मान गर्न आग्रह गर्दै राजनीतिक प्रतिशोधका गतिविधि रोक्न माग गरेको छ।




























