‘जाउँ है पोखरा’ अभियानको प्रभाव : आन्तरिक पर्यटक ३ प्रतिशतबाट ५० प्रतिशत, भैरहवा–पाल्पासम्म पर्यटन सहकार्य विस्तार

पोखरा । पर्यटन प्रवर्द्धन र अन्तरगन्तव्य सहकार्यलाई थप सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको तीन दिने ‘जाउँ है पोखरा’ अभियान सौराह, भैरहवा र पाल्पामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्दै सम्पन्न भएको छ। अभियानले पोखरा, लुम्बिनी र चितवनलाई जोड्ने पर्यटन प्रवर्द्धनको अवधारणालाई पुनर्जीवित गर्दै क्षेत्रीय पर्यटन विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ ले पोखराले जस्तै भैरहवाले पनि पर्यटन प्रवर्द्धनका योजनाबद्ध कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। पर्यटन क्षेत्रका सकारात्मक पक्षलाई प्राथमिकताका साथ प्रचार–प्रसार गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी ले ‘जाउँ है पोखरा’ अभियान सुरु हुँदा पोखरा आउने आन्तरिक पर्यटकको हिस्सा करिब तीन प्रतिशत मात्र रहेकामा अहिले त्यो संख्या ५० प्रतिशतसम्म पुगेको जानकारी दिए। नेपालीलाई पनि पर्यटकका रूपमा स्थापित गर्ने अवधारणाको सुरुवात यही अभियानबाट भएको उनले स्मरण गराए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने ले पोखरा, चितवन र लुम्बिनीलाई जोड्ने त्रिकोणीय पर्यटन प्रवर्द्धन अभियानलाई पुनः सक्रिय बनाइएको जानकारी दिए। उनले यी गन्तव्यसँग जोडिएका अन्य पर्यटकीय क्षेत्रलाई समेत क्रमशः समेट्दै जाने प्रतिबद्धता व्यक्त गरे।
होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ ले सीमाक्षेत्रमा भारतीय पर्यटकमाथि हुने व्यवहारप्रति असन्तुष्टि जनाउँदै भारतीय मुद्रा सम्बन्धी नियमबारे स्पष्ट जानकारी अभावका कारण पर्यटकले सास्ती भोग्नुपरेको बताए। उनले यस विषयमा सम्बन्धित निकायले स्पष्टता दिनुपर्ने धारणा राखे।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु शर्मा, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापा, होटल तथा रेष्टुरेन्ट एशोसिएशन रुपन्देहीका अध्यक्ष राजेश महोत्रा तथा नेपाल–भारत मैत्री संघ रुपन्देहीका अध्यक्ष श्रीचन्द गुप्ता लगायतले पर्यटन प्रवर्द्धनका विविध पक्षमा धारणा राखेका थिए।
यसैबीच पाल्पामा आयोजित कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ ले पाल्पा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले समृद्ध गन्तव्य भए पनि पर्याप्त प्रचार–प्रसार हुन नसक्दा अपेक्षित लाभ लिन नसकिएको बताए। पर्यटन र कृषिलाई एकीकृत गर्दै विकासका नयाँ सम्भावना खोजिरहेको उनले जानकारी दिए।
होटल संघ पाल्पाका अध्यक्ष जयन्त भुषाल ले पाल्पा केवल ट्रान्जिट गन्तव्य नभई आफैंमा विशिष्ट पर्यटन केन्द्र रहेको उल्लेख गर्दै जिल्लामा घुम्न, बस्न र रमाउन योग्य अनेकौं स्थल रहेको बताए।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य ले पोखरा साहसिक पर्यटन र हिमाली पदयात्राको प्रमुख प्रवेशद्वार भएको उल्लेख गर्दै पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न पर्यटन व्यवसायी प्रतिबद्ध रहेको बताए। पाल्पाको पर्यटन सम्भावना उच्च भए पनि अपेक्षित रूपमा विकास हुन नसकेको भन्दै कारणको समीक्षा गरी सबै सरोकारवालाले आ–आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने सुझाव उनले दिए।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समिरमान सिंह, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, नाट्टा पाल्पाका अध्यक्ष राजीवकुमार शाह तथा तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जन लगायतले पर्यटन विकासमा सहकार्य, पूर्वाधार विस्तार र गन्तव्य प्रवर्द्धनमा जोड दिएका थिए।
होटल संघ पोखरा नेपालद्वारा आयोजित कार्यक्रमको सञ्चालन संघकी सचिव पार्वती पाण्डे ले गरेकी थिइन्।



























