0Shares

पोखरा, असार १५ — स्थानीय महिला तथा युवालाई सीपयुक्त बनाई आत्मनिर्भर तथा स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले पोखरा महानगरपालिका वडा नं. ३ को आयोजनामा सञ्चालन गरिएको १५ दिने निःशुल्क मेकअप, स्किन केयर तथा हेयर कटिङ तालिम सम्पन्न भएको छ।

जेठ २९ गतेदेखि सुरु भएको उक्त तालिम वडा नं. ३ को आयोजना तथा श्रेना युनिसेक्स सलुन एण्ड एकेडेमी प्रा.लि.को सहकार्यमा सञ्चालन गरिएको थियो। तालिममा सहभागीहरूलाई मेकअप, स्किन केयर, हेयर कटिङ तथा ब्युटिसियनसम्बन्धी आधारभूतदेखि व्यावसायिक तहसम्मका सीप प्रयोगात्मक रूपमा प्रदान गरिएको आयोजकले जनाएको छ।

कन्या क्याम्पस पोखराको सभाहलमा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य सनकमान सीकेले सीपमूलक तालिमले बेरोजगारी न्यूनीकरण गर्दै स्थानीय महिला तथा युवालाई आत्मनिर्भर र उद्यमशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले सीपसँगै स्वरोजगार सिर्जना गर्ने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।

विशेष अतिथि क्याम्पस प्रमुख सुरेश मानन्धरले शिक्षा र सीपको समन्वयले रोजगारीका नयाँ अवसर सिर्जना हुने उल्लेख गर्दै सहभागीहरूलाई सिकेको ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न आग्रह गरे।

कार्यक्रममा पूर्व वडा सदस्य लक्ष्मी पराजुलीले महिलाको आर्थिक सशक्तीकरणका लागि स्थानीय तहबाट सञ्चालन हुने यस्ता सीपमूलक कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरिन्।

वडा सदस्य सवि परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक शर्मिला रानाभाट, सहायक प्रशिक्षक श्रेया रानाभाट तथा प्रशिक्षक दिलु सिंहले १५ दिनसम्म सहभागीहरूलाई व्यावसायिक सौन्दर्य सेवासम्बन्धी व्यवहारिक प्रशिक्षण दिएका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected