स्याङ्जाका ११ स्थानीय तहको झन्डै ७ अर्ब बजेट : कृषि, पर्यटन र पूर्वाधारमा उच्च प्राथमिकता

स्याङ्जा, असार १५ । स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि करिब ७ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। अधिकांश स्थानीय तहले कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा डिजिटल सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै बजेट ल्याएका हुन्।
जिल्लाभरका पाँच नगरपालिका र छ गाउँपालिकाले गरी ६ अर्ब ९८ करोड ४२ लाख ८७ हजार ४८३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। बजेटमा कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, सडक तथा खानेपानी विस्तार, सामाजिक सुरक्षा, सुशासन र प्रविधिमैत्री सेवा विस्तारलाई विशेष जोड दिइएको छ।
सबैभन्दा ठूलो बजेट पुतलीबजार नगरपालिकाले ९६ करोड ८३ लाख १६ हजार ४०० रुपैयाँ विनियोजन गरेको छ। नगरपालिकाले पर्यटन प्रवर्द्धनसँगै उत्पादनमुखी विकासलाई प्राथमिकतामा राखेको जनाएको छ। सबैभन्दा कम बजेट फेदीखोला गाउँपालिकाको ४० करोड १६ लाख ४०० रुपैयाँ रहेको छ।
वालिङ नगरपालिकाले कृषि आधुनिकीकरण, तरकारी तथा फलफूलमा आत्मनिर्भरता र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ८९ करोड १ लाख ५९ हजार ४३६ रुपैयाँको बजेट ल्याएको छ।
गल्याङ नगरपालिकाले स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै ८६ करोड ६३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ।
चापाकोट नगरपालिकाले पशुपालन, तरकारी तथा फलफूल खेती विस्तारका लागि ६६ करोड ४८ लाख ७४ हजार ७२ रुपैयाँ बजेट छुट्याएको छ।
भीरकोट नगरपालिकाले ‘समृद्ध भीरकोटको आधार : कृषि, पर्यटन र आँधीखोला उपहार’ भन्ने नारासहित कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, सडक विस्तार, खानेपानी, सिँचाइ र डिजिटल सेवामा केन्द्रित हुँदै ५७ करोड ३० लाख ९७ हजार ८८१ रुपैयाँको बजेट ल्याएको छ।
गाउँपालिकामध्ये आँधीखोला गाउँपालिकाले कुल बजेटको करिब ७० प्रतिशत चालु तथा ३० प्रतिशत पुँजीगत खर्च हुने गरी ६१ करोड ६२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
कालीगण्डकी गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित ५६ करोड ८१ लाख ८१ हजार रुपैयाँको बजेट ल्याएको छ।
बिरुवा गाउँपालिकाले कृषि उत्पादनलाई ग्रामीण अर्थतन्त्रको आधार मान्दै ५१ करोड ६२ लाख ६८ हजार ३८४ रुपैयाँ विनियोजन गरेको छ।
अर्जुनचौपारी गाउँपालिकाले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई संस्थागत गर्ने लक्ष्यसहित ४७ करोड ७४ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ।
हरिनास गाउँपालिकाले ४४ करोड २४ लाख रुपैयाँ तथा फेदीखोला गाउँपालिकाले ४० करोड १६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
स्थानीय तहहरूले बजेटमार्फत कृषि उत्पादन र उत्पादकत्व वृद्धि, ग्रामीण अर्थतन्त्र सुदृढीकरण, रोजगारी सिर्जना, पर्यटन विकास तथा आधारभूत सेवाको गुणस्तर सुधारलाई साझा प्राथमिकतामा राखेका छन्।
यस वर्ष केही स्थानीय तहले नवीन कार्यक्रम पनि अघि सारेका छन्। अर्जुनचौपारी गाउँपालिकाले उत्पादनमुखी क्षेत्रमा संलग्न परिवारलाई प्रतिमहिना ५० युनिटसम्म विद्युत् महसुल निःशुल्क गर्ने घोषणा गरेको छ। फेदीखोला र कालीगण्डकी गाउँपालिकाले विदेश पलायन रोक्दै युवालाई स्वदेशमै उद्यमशील बनाउन ‘विदेश होइन, बिजनेस’ अभियान सञ्चालन गर्ने नीति लिएका छन्।
यस्तै पुतलीबजार, वालिङ, गल्याङ र चापाकोट नगरपालिकाले सुन्तला, कागती, आँप, लिची, किवी, ड्रागन फ्रुट, एभोकाडो, अकबरे खुर्सानी, कफी, केरा र कुरिलोलगायत उच्च मूल्यका कृषि बालीको व्यावसायिक उत्पादन तथा ब्रान्डिङलाई विशेष प्राथमिकता दिएका छन्।
समग्रमा, स्याङ्जाका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, पूर्वाधार विस्तार, सुशासन र स्थानीय अर्थतन्त्र सुदृढीकरणलाई विकासको मुख्य आधार बनाउने स्पष्ट नीति अघि सारेका छन्।




























