लायन्स अन्तर्राष्ट्रियको अन्तर्राष्ट्रिय डाइरेक्टर बन्दै राजन लम्साल, हङकङ प्रस्थान
- July 2, 2026
- 108

काठमाडौं । नेपालका लायन नेता राजन लम्साल लायन्स अन्तर्राष्ट्रियको अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा निर्वाचित हुन बिहीबार हङकङ प्रस्थान गरेका छन् । लायन्स अन्तर्राष्ट्रियको १०८औँ अन्तर्राष्ट्रिय कन्भेन्सनमा जुलाई ३ देखि सुरु हुदैछ । जुलाई ३ देखि ७ सम्म हुने कन्भेन्सनबाट लम्साल सन् २०२६–२०२८ कार्यकालका लागि अन्तर्राष्ट्रिय डाइरेक्टर बन्ने छन् ।
लम्सालको निर्वाचनलाई नेपाली लायनिज्मका लागि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उनी नेपालमा लायनिज्म सुरु भएको साढे पाँच दशकपछि लायन्स अन्तर्राष्ट्रियका तेस्रो नेपाली अन्तर्राष्ट्रिय डाइरेक्टर बन्न लागेका हुन्। यसअघि संजय खेतान (२०१५–२०१७) र बालकृष्ण बुर्लाकोटी (२०२३–२०२५) ले उक्त जिम्मेवारी सम्हालिसकेका छन्।

हङकङ प्रस्थानअघि आयोजित बिदाइ कार्यक्रममा लम्सालले आफूले पाएको सम्मान सम्पूर्ण नेपाली लायन्स परिवारको साझा सम्मान भएको बताए। अन्तर्राष्ट्रिय डाइरेक्टरका रूपमा निर्वाचित भएपछि नेपालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामुदायिक विकासका क्षेत्रमा लायन्स अन्तर्राष्ट्रियफाउन्डेसन (एलसीआईएफ) लगायत अन्तर्राष्ट्रिय स्रोतबाट थप अनुदान भित्र्याउन पहल गर्ने उनले प्रतिबद्धता जनाए।
“नेपालको लायनिज्मलाई अन्तर्राष्ट्रिय रूपमा अझ प्रभावकारी र सशक्त बनाउने मेरो प्राथमिकता हुनेछ,” उनले भने।
नेपालभर करिब ५० हजार लायन्स सदस्य आबद्ध छन्। लम्सालको अन्तर्राष्ट्रिय नेतृत्वले विश्वका करिब २१० देश तथा भौगोलिक क्षेत्रमा फैलिएको लायन्स सञ्जालमार्फत नेपालको पहिचान, पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवाका कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
हङकङ सम्मेलनमा लम्सालका जीवनसाथी तथा पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टरद्वय बालकृष्ण बुर्लाकोटी र संजय खेतान, नेपालका १५ वटै डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नर तथा वरिष्ठ लायन नेतृत्वको सहभागिता रहने जनाइएको छ।
यसैबीच, लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै सम्मेलनमा सहभागी सम्पूर्ण नेपाली प्रतिनिधिमण्डलको यात्रा सफल, सुरक्षित र उपलब्धिमूलक रहोस् भन्ने कामना गरेकी छन्।
लम्सालको अन्तर्राष्ट्रिय डाइरेक्टरमा प्रवेशलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली लायनिज्मको विश्वव्यापी उपस्थितिलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ। यसबाट अन्तर्राष्ट्रिय सहकार्य विस्तार, सामाजिक सेवाका कार्यक्रमको प्रभावकारिता अभिवृद्धि तथा नेपालमा थप अन्तर्राष्ट्रिय स्रोत परिचालन हुने अपेक्षा गरिएको छ।



























