0Shares

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपालले लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै वैदिक विधिअनुसार पदस्थापन तथा चेयरिङ समारोह सम्पन्न गरेको छ।

शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा निवर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीलाई चेयरिङ तथा पदभार हस्तान्तरण गरेकी हुन्। पदभार ग्रहणसँगै डिष्ट्रिक्ट ३२५ आईको नयाँ कार्यकाल औपचारिक रूपमा प्रारम्भ भएको छ।

डिष्ट्रिक्ट गभर्नरको जिम्मेवारी सम्हालेपछि केसीले प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर विष्णुप्रसाद भण्डारी, क्याबिनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठ तथा क्याबिनेट ट्रेजरर शिवबहादुर काफ्लेलाई पनि चेयरिङ तथा पदभार हस्तान्तरण गराउँदै नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी सुम्पिए।

समारोहकै अवसरमा नवनिर्वाचित लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर राजन लम्सालको सचिवालय कार्यालयसमेत स्थापना गरिएको थियो, जसलाई डिष्ट्रिक्टको अन्तर्राष्ट्रिय समन्वय र संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

पदभार ग्रहणपछि सम्बोधन गर्दै डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले “Caring by Sharing (बाँडेर सेवा गरौँ)” भन्ने मूल नारालाई लायन वर्ष २०२६/२७ को अभियानको आधार बनाइने बताए। उनले सेवा, प्रभावकारी नेतृत्व, सदस्यता विस्तार, संस्थागत सुदृढीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। सबै लायन्स क्लबलाई एकताबद्ध भएर सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउन उनले आह्वानसमेत गरे।

नवनिर्वाचित लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर राजन लम्सालले नयाँ नेतृत्वलाई शुभकामना दिँदै सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनु नै लायन्सको मूल पहिचान भएको बताए। उनले नयाँ कार्ययोजनाले डिष्ट्रिक्टलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै क्लबहरूबीच सहकार्य, अनुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

निवर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले आफ्नो कार्यकालमा सुरु भएका सकारात्मक अभियानलाई नयाँ नेतृत्वले अझ प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै सफल कार्यकालका लागि शुभकामना दिइन्। उनले सम्पूर्ण लायन्स सदस्यलाई एकताबद्ध भएर सेवाका कार्यक्रमलाई अझ व्यापक बनाउन आह्वान गरिन्।

डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू चन्द्रकुमार केसी, इन्दु लम्साललगायत वरिष्ठ लायन्स नेतृत्व, पदाधिकारी तथा विभिन्न क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको क्याबिनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठले जानकारी दिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected