लायन्स डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको डिष्ट्रिक्ट क्याबिनेट पदस्थापन साउन १६ मा, प्रथम क्याबिनेट बैठक पनि सोही दिन
- July 11, 2026
- 207

काठमाडौं — लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको लायन वर्ष २०२६–२०२७ का डिष्ट्रिक्ट क्याबिनेट पदाधिकारीहरूको औपचारिक पदस्थापन तथा प्रथम नियमित डिष्ट्रिक्ट क्याबिनेट बैठक साउन १६ गते शनिबार काठमाडौंमा आयोजना हुने भएको छ।
प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हुने कार्यक्रमको आयोजना तथा आतिथ्यता लायन्स क्लब अफ काठमाडौं भृकुटीले गर्नेछ। कार्यक्रम संयोजक तथा डिष्ट्रिक्ट चिफ को-अर्डिनेटर विन्दु घिमिरेका अनुसार पदस्थापन समारोह र क्याबिनेट बैठकलाई सभ्य, भव्य र व्यवस्थित बनाउन आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ।

डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीको अध्यक्षतामा हुने कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका नवनिर्वाचित अन्तर्राष्ट्रिय निर्देशक राजन लम्साल प्रमुख अतिथि तथा पदस्थापन अधिकृतका रूपमा सहभागी हुने डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठले जानकारी दिए।
दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा डिष्ट्रिक्ट क्याबिनेट पदाधिकारीहरूको औपचारिक पदस्थापन, सम्मान तथा अभिनन्दन गरिनेछ। त्यसलगत्तै लायन वर्ष २०२६/२०२७ को प्रथम नियमित डिष्ट्रिक्ट क्याबिनेट बैठक सञ्चालन हुनेछ।
सेक्रेटरी श्रेष्ठका अनुसार बैठकमा डिष्ट्रिक्ट सेक्रेटरीको प्रतिवेदन प्रस्तुत गरिनुका साथै डिष्ट्रिक्ट ट्रेजररद्वारा आगामी वर्षको बजेट प्रस्तुत एवं अनुमोदन गरिनेछ। त्यसैगरी विभिन्न क्याबिनेट पदाधिकारीहरूको प्रतिवेदन, विविध प्रस्तावमाथि छलफल तथा निर्णय र समसामयिक विषयमा आवश्यक निर्णय लिने कार्यसूची तय गरिएको छ।
डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी श्रेष्ठले सम्पूर्ण क्याबिनेट पदाधिकारी, लायन तथा लियो सदस्यहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाई समारोहलाई भव्य, सभ्य र सफल बनाउन आग्रह गरेका छन्।
















