0Shares

काठमाडौं ।  टी.यू. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रले स्वैच्छिक रक्तदान अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यसहित लायन्स वर्ष २०२६/२०२७ का लागि १२ वटा लायन्स डिष्ट्रिक्टमा रक्त बैंक तथा रक्तदान संयोजकलाई नियुक्तिपत्र प्रदान गरेको छ।

सोमबार केन्द्रमा आयोजित कार्यक्रममा टी.यू. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रका अध्यक्ष राजेन्द्र गिरीले संयोजकहरूलाई नियुक्तिपत्र हस्तान्तरण गरे। कार्यक्रममा मल्टिपल काउन्सिल चेयरपर्सन केशर भण्डारी, डिष्ट्रिक्ट गभर्नरहरू उत्तम पी. कायस्थ, सूर्यकुमार केसी, तारा भुसाल र रत्न पराजुलीलगायतको सहभागिता थियो।

कार्यक्रमका क्रममा लायन्स डिष्ट्रिक्ट ‘ई’ ले केन्द्रलाई रक्तदान प्रमाणपत्र तथा रक्तदाता फाराम हस्तान्तरण गरेको छ। केन्द्रले यसबाट रक्तदान कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने जनाएको छ।

यसैबीच, केन्द्रको वेबसाइट, मोबाइल एप तथा डिजाइन टोलीसँग डिजिटल सेवा विस्तारसम्बन्धी रणनीतिक बैठक पनि सम्पन्न भएको छ। बैठकमा रक्तसञ्चार सेवालाई प्रविधिमैत्री, पारदर्शी र सर्वसुलभ बनाउने, देशभर नियमित रक्तदान शिविर सञ्चालन गर्ने तथा सुरक्षित रगतको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने विषयमा छलफल भएको केन्द्रले जनाएको छ। साथै केन्द्रका आजीवन सदस्य संख्या वृद्धि गर्दै सबै लायन्स डिष्ट्रिक्टमा समन्वित अभियान सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।

केन्द्रका उपाध्यक्ष तथा रक्तदान शिविर एवं स्रोत व्यवस्थापन संयोजक मनबहादुर रोकाले लायन्स नेतृत्व, रक्तदान संयोजक, स्वयंसेवक र सहयोगी संस्थाबीचको सहकार्यले नेपालमा आत्मनिर्भर र दिगो रक्तसेवा प्रणाली निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने बताए। उनले लायन्स वर्ष २०२६/२०२७ लाई स्वैच्छिक रक्तदान अभियानको उपलब्धिमूलक वर्ष बनाउने लक्ष्यका साथ सबै पक्षलाई सक्रिय सहभागिताका लागि आह्वान गरे।

रोकाका अनुसार केन्द्र विश्व स्वास्थ्य संगठनका मापदण्डअनुसार सुरक्षित रक्त सेवा प्रदान गर्ने लक्ष्यका साथ सञ्चालन भइरहेको छ। केन्द्रमा USFDA-अनुरूप उपकरण, शतप्रतिशत ब्लड कम्पोनेन्ट सेपरेसन प्रविधि, अत्याधुनिक ECLIA परीक्षण प्रणाली, पूर्ण स्वचालित रक्त समूह परीक्षण प्रणाली तथा आधुनिक भण्डारण पूर्वाधार प्रयोगमा रहेका छन्।

उनका अनुसार केन्द्रले प्रविधि र पूर्वाधारसँगै कर्मचारी क्षमता विकास, नियमित तालिम तथा समुदायमा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धिलाई पनि प्राथमिकता दिँदै स्वैच्छिक रक्तदान संस्कृतिको विस्तार र सुरक्षित रक्त सेवाको पहुँच बढाउने अभियानलाई निरन्तरता दिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected