
पोखरा, असार ३१। अकस्मात बिरामी परेका कारण निर्धारित मितिमा प्रदान गर्न नसकिएको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ बुधबार पोखरामा आयोजित विशेष कार्यक्रममा पत्रकार भुपाल गुरुङलाई अर्पण गरिएको छ।
गत जेठ २० गते कास्कीको अन्नपूर्ण गाउँपालिका–घान्द्रुकमा सम्पन्न छैटौँ अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण आरोहण दिवसको समापन समारोहमा गुरुङलाई सम्मान गर्ने कार्यक्रम तय भएको थियो। तर एपेन्डिक्सको समस्या देखिएपछि उनी अस्पताल भर्ना हुनुपरेकाले पुरस्कार वितरण स्थगित गरिएको थियो।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा अन्नपूर्ण म्याराथन–२०८३ का संयोजक ललित गुरुङले स्वास्थ्य अवस्थाका कारण रोकिएको सम्मान कार्यक्रम गुरुङको स्वास्थ्यमा सुधार आएपछि बुधबार सम्पन्न गरिएको जानकारी दिए। पुरस्कारमा रु. २५ हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ।
प्रतिभा छनोट समितिको सिफारिसका आधारमा हाल कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङलाई समितिका अध्यक्ष ललित गुरुङ, महासचिव दिलिप गुरुङ, सचिव मिकास गुरुङ, छोम्रोंग पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनराज गुरुङ, प्रतिभा छनोट समितिका संयोजक राजबहादुर गुरुङ, सदस्य हरिप्रसाद भट्टराई, मिडिया संयोजक टंकराज अधिकारी, अधिवक्ता हरिप्रसाद पण्डित, समाजसेवी गोपाल गुरुङ, सूर्यबहादुर गुरुङलगायतले पुरस्कार अर्पण गरेका थिए।
अन्नपूर्ण गाउँपालिका–घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले स्थापना गरेको उक्त पुरस्कार अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने एक जना पत्रकारलाई हरेक वर्ष जुन ३ अर्थात् अन्नपूर्ण आरोहण दिवसका अवसरमा प्रदान गर्दै आएको छ।
यस वर्षको प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ रहेका थिए। सदस्यहरूमा पत्रकार तथा समितिका कानुनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक टंकराज अधिकारी तथा पदेन सदस्यका रूपमा समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलिप गुरुङ रहेका थिए।
यसअघि उक्त पुरस्कारबाट पत्रकार बासुदेव पौडेल, दीपक परियार, रुपनारायण ढकाल, सन्तोष पोखरेल, रविचन्द्र पराजुली र रोहितराज पराजुली सम्मानित भइसकेका छन्।
स्याङ्जाको वालिङ नगरपालिका–३ राम्चे (साविक माझकोट शिवालय गाविस–२) मा जन्मिएका पत्रकार गुरुङ हाल पोखरा महानगरपालिका–१० अमरसिंहचोकमा बसोबास गर्दै आएका छन्।
वि.सं. २०६४ सालदेखि पत्रकारितामा सक्रिय गुरुङ पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनरत छन्। उनले गोर्खाली रेडियोमा तीन वर्ष, युनाइटेड राष्ट्रिय दैनिकमा पाँच वर्ष सहसम्पादक, सगरमाथा टेलिभिजनमा गण्डकी प्रदेश प्रमुखका रूपमा नौ वर्ष काम गरेका छन् भने विगत आठ वर्षदेखि कान्तिपुर टेलिभिजनमा कार्यरत छन्।
पत्रकारिता क्षेत्रमा योगदान पुर्याएबापत उनले यसअघि क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार–२०७६, टंकदेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार–२०७८, नेपाल हवाई खेलकुद संस्था पत्रकारिता पुरस्कार–२०७९ तथा पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ–कमला गुरुङ पत्रकारिता पुरस्कार–२०७९ लगायतका सम्मान प्राप्त गरिसकेका छन्।
हाल गुरुङ नेपाल पत्रकार महासंघ कास्कीका जिल्ला सचिव हुन्। साथै उनी आदिवासी जनजाति पत्रकार महासंघ, संसदीय पत्रकार मञ्च गण्डकी, नेपाल प्रेस युनियन, चलचित्र पत्रकार संघलगायत विभिन्न व्यावसायिक संस्थामा सक्रिय आबद्ध छन्।
















