0Shares

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५–आई, नेपालका डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीलाई पोखरा सचिवालयमा भव्य स्वागतसहित औपचारिक चेयरिङ गराईएको छ।

यसअघि शनिबार काठमाडौंस्थित कार्यालयमा वैदिक विधिअनुसार विशेष पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो। पदभार ग्रहणलगत्तै गभर्नर केसीले प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर विष्णुप्रसाद भण्डारी, क्याबिनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठ तथा क्याबिनेट ट्रेजरर शिवबहादुर काफ्लेलाई पनि चेयरिङ गराउँदै जिम्मेवारी हस्तान्तरण गरेका थिए।

डिष्ट्रिक्ट गभर्नर केसीको अध्यक्षतामा पोखरा सचिवालयमा सम्पन्न कार्यक्रमका अवसरमा पूर्व डिष्ट्रिक्ट गभर्नरहरू विनोद ढुंगाना, चन्द्रकुमार केसी, रामबहादुर बसेल, इन्दु लम्साललगायत अग्रज लायन्स नेतृत्वको उल्लेखनीय उपस्थिति रहेको एडिशनल क्याबिनेट सेक्रेटरी दामोदर आचार्यले जानकारी दिए।

पदभार ग्रहणपछि सम्बोधन गर्दै गभर्नर केसीले लायन वर्ष २०२६/२७ का लागि ‘Caring by Sharing’ भन्ने मूल नारालाई आत्मसात् गर्दै सेवा, नेतृत्व विकास र संस्थागत सुदृढीकरणलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, महिला तथा युवा सशक्तीकरण र सदस्य विस्तारलाई उच्च प्राथमिकतामा राख्दै डिष्ट्रिक्ट ३२५–आईलाई अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।

सेवा आर्थिक सहयोगमा मात्र सीमित नरहने उल्लेख गर्दै उनले समय, श्रम, ज्ञान, अनुभव, प्रेम, करुणा र नेतृत्व बाँड्ने संस्कृतिको विकास नै अभियानको मूल उद्देश्य भएको स्पष्ट पारे। “यो गभर्नरको मात्र वर्ष होइन, सम्पूर्ण लायन्स परिवारको वर्ष हो,” उनले भने, “हामी सबैको साझा प्रयासबाट सेवा र नेतृत्वलाई नयाँ उचाइमा पुर्‍याउनेछौँ।”

डिष्ट्रिक्टले यस लायन वर्षमा मेगा स्वास्थ्य शिविर, नियमित स्वास्थ्य परीक्षण, रक्तदान अभियान, शिक्षा सहयोग, बाल स्वास्थ्य तथा पोषण कार्यक्रम, वृक्षारोपण, सरसफाइ, विपद् व्यवस्थापन तथा महिला र युवाका लागि स्वरोजगारमूलक तालिम सञ्चालन गर्ने योजना अघि सारेको छ। साथै, त्रिभुवन विश्वविद्यालय लायन्स ब्लड बैंकसँगको सहकार्यमा ७ हजार पिन्ट रगत संकलन गर्ने महत्वाकांक्षी लक्ष्य पनि सार्वजनिक गरिएको छ।

यसैगरी नयाँ क्लब स्थापना, सदस्य संख्या विस्तार, महिला तथा युवा सहभागिता वृद्धि, लियो क्लब सुदृढीकरण, क्लब पदाधिकारी प्रशिक्षण, अन्तर्राष्ट्रिय साझेदारी, क्लब ट्विनिङ तथा दीर्घकालीन प्रभाव पार्ने ‘सिग्नेचर प्रोजेक्ट’ सञ्चालन गरिने जनाइएको छ। प्रत्येक क्लबमा न्यूनतम २५ सक्रिय सदस्य रहने गरी प्रभावकारी संगठन निर्माण गर्ने लक्ष्यसमेत डिष्ट्रिक्टले तय गरेको छ।

गभर्नर केसीले सेवा, पारदर्शिता, उत्तरदायित्व र गुणस्तरीय नेतृत्वका माध्यमबाट डिष्ट्रिक्ट ३२५–आई नेपाललाई ‘संसारकै उत्कृष्ट डिष्ट्रिक्ट’ बनाउने लक्ष्य दोहोर्याउँदै समाज रूपान्तरणको अभियानमा हातेमालो गर्न सम्पूर्ण लायन्स सदस्यलाई आह्वान गरे।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected