0Shares

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपालको लायन वर्ष २०२६/२७ का क्याबिनेट पदाधिकारीहरूको पदस्थापना तथा पहिलो क्याबिनेट बैठकको तयारी तीव्र पारिएको छ। आगामी साउन १६ गते शनिबार काठमाडौंस्थित महेन्द्र पुलिस क्लबमा हुने कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र सहभागितामूलक बनाउन आयोजकले तयारीलाई तीव्र बनाएको जनाएको छ।

डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले पहिलो क्याबिनेट बैठक नयाँ कार्यकालको औपचारिक सुरुआतसँगै डिष्ट्रिक्टको नीति, कार्यक्रम र प्राथमिकता निर्धारण गर्ने महत्वपूर्ण मञ्च भएको बताए। उनका अनुसार यस वर्ष पहिलो पटक डिष्ट्रिक्ट ३२५ आईकै अविभावकको नेतृत्वमा क्याबिनेट बैठक सञ्चालन हुन लागेको छ, जसलाई उनले संगठनका लागि ऐतिहासिक अवसरको रूपमा चित्रण गरे। पोखरामा सम्पन्न तयारी भेलामा ३७३ जनाको प्रतिबद्वता आईसकेको अन्तिम दिनसम्म गण्डकी क्षेत्रबाट ५५० बढ़ी संख्या पुग्ने लक्षण देखिएको बताए ।

गभर्नर केसीले पहिलो क्याबिनेट बैठकमा सेवा परियोजना, सदस्यता विस्तार, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, सुशासन तथा समुदायमुखी कार्यक्रमहरूको कार्यान्वयन सम्बन्धी विषयमा विस्तृत छलफल हुने जनाए । नयाँ कार्यकाललाई सेवा, सहकार्य र प्रभावकारी नेतृत्वमा केन्द्रित गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमको व्यवस्थापन लायन्स क्लब अफ काठमाडौं भृकुटीले गरिरहेको छ। कार्यक्रम संयोजक तथा डिष्ट्रिक्ट चिफ को-अर्डिनेटर विन्दु घिमिरेको नेतृत्वमा स्वागत, दर्ता, अतिथि सत्कार, मञ्च व्यवस्थापन तथा समन्वयलगायत विभिन्न उपसमितिहरू सक्रिय रूपमा परिचालित छन्।

आयोजक क्लब भृकुटीका संस्थापक अध्यक्ष तथा पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले महिला सदस्यहरू मात्र रहेको क्लबले व्यवस्थापकीय जिम्मेवारी सम्हाले पनि कार्यक्रम सम्पूर्ण डिष्ट्रिक्टको साझा अभियान भएकाले सबै क्लब र सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। उनले समयमै प्रि–रजिष्ट्रेशन गरी कार्यक्रमलाई सफल बनाउन आग्रह गरिन्।

तयारी बैठकमा पूर्व डिष्ट्रिक्ट गभर्नरहरू राम बसेल, चन्द्रकुमार केसी र विनोद ढुंगानाले हालै सम्पन्न लायन्स अन्तर्राष्ट्रिय कनभेन्सनको सफलताको चर्चा गर्दै डिष्ट्रिक्ट ३२५ आई, नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय डाइरेक्टर पाउनु संगठनका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनीहरूले डिष्ट्रिक्ट गभर्नरले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको सफल कार्यान्वयन क्याबिनेट र सम्पूर्ण सदस्यहरूको सामूहिक जिम्मेवारी हुने धारणा राखे।

कार्यक्रमका लागि बागमती र गण्डकी क्षेत्रमा छुट्टाछुट्टै प्रि–रजिष्ट्रेशन समन्वय टोली गठन गरिएको छ। बागमती क्षेत्रमा डिष्ट्रिक्ट चिफ को-अर्डिनेटर पदमलाल सापकोटाको नेतृत्वमा तथा गण्डकी क्षेत्रमा डिष्ट्रिक्ट चिफ एड्मिनिस्ट्रेटर युवराज खनालको नेतृत्वमा समन्वय कार्य अघि बढाइएको आयोजकले जनाएको छ।

तयारी बैठकको समापन गर्दै प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईले पहिलो क्याबिनेट बैठक र पदस्थापना समारोहलाई सफल बनाउन सम्पूर्ण लायन्स सदस्यलाई सक्रिय सहभागिताका लागि आह्वान गरे।

डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठका अनुसार कार्यक्रममा क्याबिनेट पदाधिकारी, क्लब अध्यक्ष, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। उनका अनुसार १५ सय बढ़ीको सहभागिता रहने कार्यक्रमको व्यवस्थापनलाई सहज बनाउन सहभागीहरूलाई अनिवार्य रूपमा प्रि–रजिष्ट्रेशन गर्न आग्रह गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected