बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’ सम्पन्न, विजेतालाई नगद पुरस्कार र मानव सहायता कल्याण कोष घोषणा

काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पुरुषतर्फका उत्कृष्ट छ जना धावकलाई नगद पुरस्कार प्रदान गरिएको छ भने जलवायु परिवर्तनबारे सचेतना फैलाउने उद्देश्यले विविध कार्यक्रमसमेत आयोजना गरिएको छ।
ललितपुरस्थित युएन पार्कबाट सुरु भएको पाँच किलोमिटर दौड १६ मिनेट १५.७ सेकेन्डमा पूरा गर्दै मुकेश बहादुर पाल प्रथम भए। उनलाई कांग्रेस सभापति गगनकुमार थापाले ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभयो। दोस्रो स्थान हासिल गरेका नरेन्द्र सिंह रावलले २५ हजार, तेस्रो भएका सञ्जय श्रेष्ठले २० हजार, चौथो भएका गणेश सिंहले १२ हजार, पाँचौँ भएका अमृत ठकुरीले १० हजार तथा छैटौँ भएका नागेश्वर अहिरले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा झण्डै १,४०० जनाले नाम दर्ता गराएका थिए। महिला प्रतियोगीहरूले निर्धारित धावन मार्ग छोडेर दौडेकाले उनीहरूको प्रतिस्पर्धा पुनः गराइने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। सभापति थापासमेत प्रतियोगितामा सहभागी भएका थिए भने सयौँ व्यक्तिले अप्रतियोगीका रूपमा दौडमा सहभागिता जनाएका थिए।
दौडपछि जावलाखेलमा जलवायु परिवर्तनसम्बन्धी विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। पार्टीका उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा जलवायु परिवर्तनलाई राष्ट्रिय प्राथमिकतामा राख्दै प्रभावकारी नीति, जनचेतना र सतर्कताको आवश्यकतामा जोड दिइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले ‘ग्रीन रन’ केवल सचेतनामूलक कार्यक्रम नभई जलवायु संरक्षणप्रतिको सामूहिक संकल्प भएको बताउनुभयो। उहाँले जङ्गल, जमिनलगायत प्राकृतिक स्रोत–साधनको संरक्षण तथा दिगो विकासको अवधारणा बीपी कोइरालाले दशकौँअघि नै अघि सारेको स्मरण गर्दै कांग्रेसले त्यसलाई पुनः व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो। समावेशिताको अवधारणालाई पनि बीपीले व्यवहारमै लागू गरेको भन्दै त्यसप्रति पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
सो अवसरमा जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रतियोगिता आयोजना गर्नुका साथै सहभागीहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको थियो। कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयबाट बिरुवा वितरण कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाएको छ।
यसैबीच, कांग्रेसले मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा पनि गरेको छ। सभापति थापाका अनुसार कोषको रकम घरबारविहीन भएका एकल महिला तथा बालबालिकाको सहयोगमा खर्च गरिनेछ। हालसम्म पार्टी सदस्यहरूबाट १० लाख रुपैयाँ सङ्कलन भइसकेको र आगामी दिनमा कोष विस्तार गर्दै लगिने जानकारी उहाँले दिनुभयो।
कोषको विस्तृत विवरण तथा पार्टीका नयाँ राजनीतिक कार्यक्रम र अभियानबारे भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममा सार्वजनिक गरिने कांग्रेसले जनाएको छ। सोही कार्यक्रममा बीपी स्मृति दिवसको विशेष समारोह, ‘जरा अभियान’को समापन तथा नयाँ कार्यक्रमहरूको घोषणा गरिनेछ।
















