0Shares

पोखरा नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय बजारमा नेपालको उपस्थितिलाई सशक्त बनाइने बताएका छन्।

पोखरा पर्यटन परिषद्ले बिहिवार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रका साझा समस्या समाधान, प्रभावकारी अन्तर्राष्ट्रिय प्रचार–प्रसार तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थाबीच एकीकृत प्रयास अपरिहार्य रहेको बताए।

उनले पर्यटन व्यवसायी तथा विभिन्न संघ–संस्थाबाट प्राप्त अपनत्वले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै पर्यटन क्षेत्रका साझा समस्या र आवश्यकतालाई नेपाल पर्यटन बोर्डमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे।

पोखरेलले नेपाल पर्यटन बोर्डको मूल दायित्व अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्नु भएको स्पष्ट पार्दै बोर्ड पूर्वाधार निर्माणभन्दा पर्यटक भित्र्याउने अभियान, अन्तर्राष्ट्रिय प्रचार–प्रसार र स्रोत बजारमा नेपालको पहुँच विस्तारमा केन्द्रित हुनुपर्ने धारणा राखे।

“नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउनु अहिलेको प्रमुख आवश्यकता हो,” उनले भने, “पोखराबाट विभिन्न संस्थाले छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नुको सट्टा साझा अवधारणा र समन्वित रणनीतिसहित अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत हुन सके अझ प्रभावकारी परिणाम प्राप्त गर्न सकिन्छ।”

सरकारले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विदेशी ब्लगर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि तथा पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गराउने रणनीतिमा काम गरिरहेको जानकारी पनि उनले दिए।

पोखरेलले पोखरालाई ‘वेलनेस टुरिजम’ को आकर्षक गन्तव्यका रूपमा विकास गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै यससम्बन्धी योजना तथा परियोजना निजी क्षेत्रबाट आए नेपाल पर्यटन बोर्डमार्फत आवश्यक सहजीकरण गरिने बताए।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालमा विदेशी पर्यटक बढाउन अन्तर्राष्ट्रिय स्तरका प्रवर्द्धनात्मक कार्यक्रम आवश्यक रहेको बताए। उनले पोखराबाट दुबई उडान सञ्चालन हुन लागेको सन्दर्भमा त्यसको व्यापक प्रचार–प्रसार गर्न पनि सबै सरोकारवालालाई आग्रह गरे।

कार्यक्रममा परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने, परिषद्का उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य तथा परिषद्का महासचिव जीवन सापकोटालगायतले पर्यटन क्षेत्रको दिगो विकासका लागि नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।

उल्लेखनीय छ, पछिल्लो समय नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनभन्दा पूर्वाधार निर्माणमा बढी केन्द्रित भएको भन्दै पर्यटन व्यवसायीहरूले आलोचना गर्दै आएका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected