0Shares

 ‘नेपालको सेवा, नेतृत्व र पर्यटनलाई विश्वमञ्चमा थप प्रभावकारी रूपमा स्थापित गर्छु’ : राजन लम्साल

पोखरा, साउन ७ । लायन्स अन्तर्राष्ट्रियका नवनिर्वाचित अन्तर्राष्ट्रिय निर्देशक राजन लम्साललाई पोखरामा भव्य स्वागत, अभिनन्दन तथा सम्मान गरिएको छ। विश्वकै सबैभन्दा ठूलो मानवीय सेवामूलक संस्था लायन्स अन्तर्राष्ट्रियको सर्वोच्च नेतृत्व तहमा नेपालबाट निर्वाचित भएपछि लम्साल पहिलो पटक पोखरा आइपुगेका हुन्।

बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पोखरामा सक्रिय पाँचवटै लायन्स डिष्ट्रिक्टका पदाधिकारी, पूर्व डिष्ट्रिक्ट गभर्नर तथा वरिष्ठ लायन्स नेताहरूले फूलमाला, अबिर र खादा लगाएर भव्य स्वागत गरेका थिए। त्यसपछि उनको सम्मानमा विशेष अभिनन्दन तथा सम्मान भोज (बेन्क्वेट) कार्यक्रम आयोजना गरिएको थियो।

गत जुलाई ३ देखि ७ सम्म हङकङमा सम्पन्न लायन्स अन्तर्राष्ट्रियको १०८औँ अन्तर्राष्ट्रिय सम्मेलनबाट लम्साल लायन वर्ष २०२६–२८ का लागि अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित भएका हुन्। उनी नेपालबाट लायन्स अन्तर्राष्ट्रिय बोर्ड अफ डाइरेक्टर्समा पुग्ने तेस्रो नेपाली हुन्।

डिष्ट्रिक्ट ३२५ जेका डिष्ट्रिक्ट गभर्नर प्रजापति बास्तोलाको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख तथा पूर्व डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य प्रमुख अतिथि, पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी र मल्टिपल काउन्सिल चेयरपर्सन केशव भण्डारी विशेष अतिथि रहेका थिए। कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आईका गभर्नर सूर्यकुमार केसी, डिष्ट्रिक्ट ३२५ एमका गभर्नर रत्न पराजुली, विभिन्न डिष्ट्रिक्टका प्रथम तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर, पूर्व डिष्ट्रिक्ट गभर्नर तथा सयौं लायन्स सदस्यको उल्लेखनीय सहभागिता थियो।

डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्रमोहन भट्टराईका अनुसार लम्सालको सम्मानमा पोखरामा सक्रिय डिष्ट्रिक्ट ३२५ आई, जे, के, एल र एम नेपालले संयुक्त रूपमा विशेष अभिनन्दन कार्यक्रम आयोजना गरेका हुन्।

सम्मान ग्रहणपछि बोल्दै अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले आफ्नो निर्वाचन व्यक्तिगत उपलब्धिभन्दा पनि नेपालको प्रतिष्ठा र लायन्स अभियानप्रति अन्तर्राष्ट्रिय समुदायले गरेको विश्वासको प्रतीक भएको बताए।

“नेपालले सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेका असल अभ्यासलाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर पाएको छु। मेरो प्राथमिकता नेपाललाई अझ प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय लायन्स समुदायसँग जोड्नु हुनेछ,” उनले भने।

उनले आगामी दुई वर्षमा युवा नेतृत्व विकास, संस्थाभित्र प्रविधिमैत्री प्रणाली विस्तार तथा नेपालमा सफल भएका सेवामूलक कार्यक्रमलाई अन्तर्राष्ट्रिय बोर्डसम्म पुर्याउने लक्ष्य रहेको बताए। विश्वभरका लायन्स सदस्यबीच सहकार्य विस्तार गर्दै नेपालमा दीर्घकालीन सामाजिक विकासका परियोजना भित्र्याउन सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरे।

पर्यटन प्रवर्द्धनलाई पनि आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने उल्लेख गर्दै लम्सालले नेपाललाई अन्तर्राष्ट्रिय सम्मेलन, नेतृत्व विकास तथा सेवामूलक कार्यक्रमहरूको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न पहल गर्ने बताए। साथै, अन्तर्राष्ट्रिय स्रोत, साझेदारी र अवसरलाई नेपालमा परिचालन गरी स्थायी सामाजिक परियोजनाहरू विस्तार गर्ने योजना रहेको उनको भनाइ थियो।

‘नेपालको लायन्स अभियानका लागि ऐतिहासिक उपलब्धि’

प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लम्सालको निर्वाचनलाई नेपालको ५५ वर्षे लायन्स इतिहासको अर्को महत्वपूर्ण उपलब्धि भएको बताए।

“नेपालको लायन्स अभियानले अन्तर्राष्ट्रिय नेतृत्वमा थप प्रभावकारी उपस्थिति जनाएको छ। यसले सेवामूलक कार्यक्रमलाई विश्व समुदायसँग जोड्दै सामाजिक विकास, नेतृत्व निर्माण र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा नयाँ अवसर सिर्जना गर्नेछ,” उनले भने।

पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले लम्सालले नेतृत्वमा त्याग, समर्पण र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै आफूलाई अन्तर्राष्ट्रिय निर्देशक बन्ने यात्रामा पनि लम्सालको साथ र सहयोग अविस्मरणीय रहेको बताए।

मल्टिपल काउन्सिल चेयरपर्सन केशव भण्डारी, डिष्ट्रिक्ट ३२५ आईका गभर्नर सूर्यकुमार केसी तथा डिष्ट्रिक्ट ३२५ एमका गभर्नर रत्न पराजुलीले लम्सालको नेतृत्वले नेपालको लायन्स अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए।

पूर्व डिष्ट्रिक्ट गभर्नर योगेन्द्रलाल प्रधानले लम्साललाई “हुने बिरुवाको चिल्लो पात”को संज्ञा दिँदै विगतदेखि नै लम्सालको नेतृत्व क्षमता स्पष्ट देखिएको स्मरण गरे।

“हामीले ठूलो जिम्मेवारी तपाईंको काँधमा सुम्पेका छौँ। त्यो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्नुहुनेछ भन्ने पूर्ण विश्वास छ,” उनले भने।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आईका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्रमोहन भट्टराई, डिष्ट्रिक्ट ३२५ एमका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर किशोर बराल, डिष्ट्रिक्ट ३२५ एलका द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर तेजनारायण पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

लम्साल २१२ देश तथा भौगोलिक क्षेत्रको प्रतिनिधित्व रहेको लायन्स अन्तर्राष्ट्रिय बोर्ड अफ डाइरेक्टर्समा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने तेस्रो नेपाली हुन्। यसअघि संजय खेतान (२०१५–१७) र बालकृष्ण बुर्लाकोटी (२०२३–२५) ले अन्तर्राष्ट्रिय निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected