नेपाली कांग्रेसको संस्थापन इतर समूह राष्ट्रिय भेलाको तयारीमा तीव्र, भ्रातृ संगठन परिचालनका लागि १० नेतालाई जिम्मेवारी
- July 28, 2026
- 216

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको प्रभावकारी परिचालनका लागि नेताहरूबीच जिम्मेवारी बाँडफाँट गरेको छ।
सोमबार दिउँसो काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको इतर पक्षका शीर्ष नेताहरूको बैठकले राष्ट्रिय भेलालाई सफल बनाउन विभिन्न क्षेत्रको नेतृत्व गर्ने गरी १० जना नेतालाई विशेष जिम्मेवारी प्रदान गरेको हो।
बैठकले नेता मीन विश्वकर्मालाई राष्ट्रिय भेला प्रचारप्रसार समितिको संयोजक तोकेको छ। प्रचारप्रसारसँगै उनले बुद्धिजीवी वर्ग परिचालनको जिम्मेवारीसमेत सम्हाल्ने भएका छन्।
त्यसैगरी, नेपाल विद्यार्थी संघ (नेविसंघ) परिचालनको जिम्मा कुन्दनराज काफ्ले, नेपाल तरुण दल परिचालनको जिम्मा जीतजंग बस्नेत तथा नेपाल महिला संघ परिचालनको जिम्मा उषा राउत मिश्रलाई दिइएको छ।
मीन विश्वकर्माका अनुसार नेपाल दलित संघ परिचालनका लागि यमुना विश्वकर्मा, नेपाल किसान संघका लागि अध्यक्ष गणेश तिमिल्सिना तथा लोकतान्त्रिक आदिवासी जनजाति परिचालनका लागि जगत बरामलाई जिम्मेवारी तोकिएको छ।
यसैगरी, मोहनबहादुर बस्नेतलाई काठमाडौं जिल्ला सम्पर्क समिति तथा खेलकुद क्षेत्रको समन्वय, किरण पौडेललाई विदेशस्थित जनसम्पर्क समितिहरूको समन्वय तथा हरिशरण नेपालीलाई ट्रेड युनियन परिचालनको जिम्मेवारी दिइएको छ।
नेता विश्वकर्माले आवश्यकताअनुसार थप समिति गठन गरेर अन्य भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पनि राष्ट्रिय भेलाको तयारीमा सक्रिय रूपमा परिचालन गरिने जानकारी दिए।
राष्ट्रिय भेलालाई देशव्यापी बनाउन इतर समूहले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णयसमेत गरेको छ। उनका अनुसार साउन १६ गतेभित्र सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिहरू परिचालन गरिसक्ने तयारी गरिएको छ।
संस्थापन पक्षसँग सहमतिको प्रयास जारी रहे पनि राष्ट्रिय भेला कुनै पनि अवस्थामा नरोकिने इतर समूहको स्पष्ट सन्देश छ।
मीन विश्वकर्माले भने, “संवाद र सहमतिका प्रयास जारी छन्। सहमति भए राष्ट्रिय भेला एकता भेलामा रूपान्तरण हुन्छ। भएन भने यही भेलाले पार्टीको आगामी राजनीतिक दिशा तय गर्नेछ।”
इतर समूहको यो तयारीलाई नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक शक्ति–सन्तुलन र भावी रणनीति निर्धारणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। साउन २९ को राष्ट्रिय भेलाले पार्टीको आन्तरिक राजनीतिमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।














