जन्मदिनको खुसी सेवामा बाँड्दै लोकनाथ–सबिना अधिकारी

पोखरा । व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्दै लायन्स क्लब अफ पोखरा पिपल चौतारीले क्लबका निवर्तमान अध्यक्ष एवं जोन चेयरपर्सन लोकनाथ अधिकारी र उहाँकी धर्मपत्नी सबिना अधिकारीको जन्मदिनको अवसरमा खाद्यान्न तथा फलफूल वितरण गरेको छ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपालअन्तर्गतको क्लबले नियमित कार्यक्रम ‘हंगर रिलिफ’ अन्तर्गत पोखरास्थित कोपिला नेपाल, बुलौंदीमा उक्त कार्यक्रम आयोजना गरेको हो। लोकनाथ अधिकारीको जन्मदिन २८ गते र सबिना अधिकारीको जन्मदिन २९ गते परेको अवसरलाई सामाजिक सेवासँग जोडेर कार्यक्रम गरिएको क्लबका सचिव संकल्प बसेलले जानकारी दिए।
क्लबका अध्यक्ष सुभाकर उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मल्टिपल कमिटी चेयरपर्सन, डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर तथा क्लबका संस्थापक अध्यक्ष रामबहादुर बसेललगायत क्याबिनेटका सिनियर पदाधिकारी, क्लब पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा लोकनाथ अधिकारीले जन्मदिनलाई सेवासँग जोडेर मनाउने संस्कारले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। जन्मदिन व्यक्तिगत खुसीको अवसर मात्र नभई आफूले सकेको सहयोग अरूको जीवनमा पुर्याउने अवसरसमेत भएको उनको भनाइ थियो।
“जन्मदिन व्यक्तिगत खुसीको दिन मात्र होइन, आफूले सकेको सहयोग अरूको जीवनमा पुर्याउने अवसर पनि हो। आज प्राप्त भएको माया र शुभेच्छालाई सेवामार्फत समाजमा फर्काउन पाउँदा अत्यन्त खुसी लागेको छ,” अधिकारीले भने।
सबिना अधिकारीले पनि जन्मदिनको अवसरमा गरिएको खाद्यान्न तथा फलफूल वितरणले आफूलाई आत्मीयता र सन्तुष्टि दिएको बताइन्। आगामी दिनमा पनि मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले भनिन्, “हामीले मनाउने खुसी अरूको अनुहारमा मुस्कान ल्याउन सके त्योभन्दा ठूलो उपहार अरू केही हुँदैन।”
क्लब अध्यक्ष सुभाकर उप्रेतीले सेवा, नेतृत्व र मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै क्लबले विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। व्यक्तिगत अवसरलाई सामाजिक सेवासँग जोड्ने परम्पराले लायन्सको ‘We Serve’ भन्ने मूल भावनालाई थप बलियो बनाउने उनको भनाइ थियो।

प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले लायन्सको यस वर्षको ‘Caring by Sharing’ भावनालाई व्यवहारमा उतार्ने उदाहरण लोकनाथ र सबिना अधिकारीको पहल भएको बताए। आफूमा भएको खुसी, माया, समय, स्रोत र सहयोग अरूसँग बाँड्दै मानवीय सेवाको दायरा फराकिलो बनाउनु नै ‘Caring by Sharing’ को मूल भावना भएको उनको भनाइ थियो।
“लोकनाथ र सबिना अधिकारीले आफ्नो जन्मदिनलाई व्यक्तिगत उत्सवमा सीमित नराखी सेवाको अवसरका रूपमा मनाउनुभएको छ। यो नै लायन्सको सेवाभाव र ‘We Serve’ को वास्तविक अभ्यास हो,” गभर्नर केसीले भने।
डिष्ट्रिक्ट चिफ (हंगर रिलिफ) दिलबहादुर थापाले लोकनाथ र सबिना अधिकारीलाई जन्मदिनको शुभकामना दिँदै उनीहरूको सेवाभावको प्रशंसा गरे। जन्मदिनको खुसीलाई सामाजिक उत्तरदायित्वसँग जोडेर गरिएको खाद्यान्न तथा फलफूल वितरणले ‘Caring by Sharing’ को भावनालाई व्यवहारमै उतारेको उनले बताए।
क्लबका संस्थापक अध्यक्ष रामबहादुर बसेलले लोकनाथ अधिकारी र सबिना अधिकारीलाई जन्मदिनको शुभकामना दिँदै व्यक्तिगत खुसीलाई सामाजिक सेवामा रूपान्तरण गरेर उदाहरण प्रस्तुत गरेकोमा प्रशंसा गरे। लायन्स अभियानलाई थप प्रभावकारी बनाउन सहकार्य र सेवाभाव आवश्यक रहेको उनले बताए।
कोपिला नेपालका संस्थापक अध्यक्ष तीर्थबहादुर थापाले व्यक्तिगत उत्सवलाई सामाजिक सेवामा रूपान्तरण गर्ने लोकनाथ–सबिना अधिकारीको पहल अनुकरणीय भएको बताए। यसले जन्मदिन मनाउने नयाँ संस्कारको सन्देश दिएको उल्लेख गर्दै उनले लायन्सको सेवाभावप्रति गर्व महसुस भएको बताए।
उनले कोपिला नेपालको स्थापना उद्देश्य तथा भावी रणनीतिबारे जानकारी दिँदै संस्थाको सामाजिक अभियानमा आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरे। कार्यक्रममार्फत प्राप्त सहयोगका लागि उनले लायन्स क्लब र सहयोगदाताप्रति धन्यवाद व्यक्त गरे।
जन्मदिनको अवसरमा गरिएको खाद्यान्न तथा फलफूल वितरणले व्यक्तिगत उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने सकारात्मक सन्देश दिएको सचिव संकल्प बसेलको भनाई थियो । अधिकारी दम्पतीको पहलले जन्मदिनलाई सेवा, सहयोग र मानवीय संवेदनासँग जोड्ने अनुकरणीय संस्कारको उदाहरण प्रस्तुत गरेको बसेलले जनाए ।













