0Shares

काठमाडौं — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै पार्टी, राजनीतिक दल र आम नेपालीलाई परिवर्तनलाई आत्मसात् गर्दै राष्ट्रिय एकता, लोकतन्त्र र मेलमिलापको बाटोमा अघि बढ्न अपिल गरेका छन्।

देउवाले २०८३ साउन २८ गते जारी गरेको अपिलमा झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि नेपाल फर्किएको उल्लेख गर्दै आफ्नो स्वास्थ्यबारे चासो, चिन्ता र स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले आफू पुनः नेपाली जनतामाझ ‘विनम्र सेवक’का रूपमा उपस्थित भएको बताएका छन्।

उनले नेपाली कांग्रेसलाई केवल लोकतान्त्रिक इतिहास बोकेको राजनीतिक दल मात्र नभई दशकौंको राजनीतिक संघर्षमार्फत मुलुकको स्वतन्त्रता, लोकतन्त्र र अस्तित्वको रक्षा गरेको पार्टीका रूपमा चित्रण गरेका छन्। कांग्रेसको लामो संघर्षपूर्ण यात्रामा सहभागी हुन पाएकोमा आफूलाई गर्व लागेको भन्दै उनले बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत अग्रज नेताहरूको योगदान र विरासतलाई स्मरण गरेका छन्।

देउवाले वर्तमान पुस्ताले विगतका पुस्ताको त्याग, बलिदान र संघर्षलाई नकारात्मक रूपमा प्रस्तुत गर्न नहुने बताएका छन्। लोकतन्त्र, स्वतन्त्रता, विभिन्न जातजाति, क्षेत्र र समुदायको अधिकार स्थापित गर्न अघिल्ला पुस्ताले लामो समय संघर्ष गरेको भन्दै उनले त्यसबाट प्राप्त उपलब्धिको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।

युवा पुस्ताको आवाज सुन्नुपर्नेमा जोड

अपिलको दोस्रो बुँदामा देउवाले युवा पुस्ताको ‘मौन पीडा र प्रखर आवाज’ दुवै आफूले सुनेको बताएका छन्। नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको उल्लेख गर्दै विश्व परिवर्तनशील भएकाले समयको गतिसँगै अघि बढ्नुपर्ने बताएका छन्।

उनले समाजका सबै वर्ग, समुदाय र पुस्ताको सार्थक सहभागिता सुनिश्चित गर्नुपर्ने र भविष्य राष्ट्र निर्माणमा योगदान गर्ने हातहरूको भएको बताएका छन्। गत भदौमा भएको जेनजी आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि देउवाले उल्लेख गरेका छन्।

उनका अनुसार परिवर्तनको अर्थ विगत खराब थियो वा अघिल्लो पुस्ताको त्याग, बलिदान र संघर्ष गलत थियो भन्ने होइन। अघिल्लो पुस्ताले लोकतन्त्र, स्वतन्त्रता र अधिकारका लागि लामो संघर्ष गरेको भन्दै उनले नयाँ पुस्ताले त्यो इतिहासबाट सिक्दै अगाडि बढ्नुपर्ने बताएका छन्।

परिवर्तन सजिलो हुँदैन’

देउवाले परिवर्तनको बाटो सहज नहुने भन्दै धैर्य, त्याग, साहस र दृढताको परीक्षा हुने बताएका छन्। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्नु वर्तमान सरकारको दायित्व भएको उनको भनाइ छ।

राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्ने भन्दै उनले ताजा जनमतबाट आएको सत्तारुढ दलले जनताको मतको सम्मान गर्नुपर्ने बताएका छन्। लोकतन्त्रमा जनता नै सर्वोच्च हुने भएकाले जनताको चाहनालाई कसैले बदल्न नसक्ने उनको भनाइ छ।

देउवाले नेपाली कांग्रेस परिवर्तन व्यवस्थापनको प्रक्रियामा सहयोग गर्न तयार रहेको पनि बताएका छन्। तर परिवर्तनका नाममा ‘अन्धाधुन्ध दौडिने’ नभई विवेक, पारदर्शिता र न्यायका आधारमा रूपान्तरण अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।

कांग्रेस एकताबद्ध हुनुपर्ने अपिल

अपिलको चौथो बुँदामा देउवाले नेपाली कांग्रेस आफूभित्र एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन्।

राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै मिलेर अघि बढ्नुपर्ने भन्दै उनले वर्तमान संविधान लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गरेका छन्। संविधानको संरक्षण गर्नुपर्ने र संशोधन आवश्यक भए पनि राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने उनको धारणा छ।

संसदमा अंकगणितका आधारमा कांग्रेस सानो–ठूलो हुन सक्ने भए पनि २००७ सालदेखि मुलुकमा भएका राजनीतिक परिवर्तनका विभिन्न चरणको नेतृत्व कांग्रेसले गरेको देउवाले बताएका छन्। पार्टीभित्र देखिएको असहमति र निराशा तत्काल समाधान हुनुपर्ने भन्दै उनले कांग्रेसमा विवाद हुँदा त्यसको असर राष्ट्रियतामै पर्न सक्ने चेतावनी दिएका छन्।

उनले कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, मतदाता तथा आम नेपालीलाई पार्टीको सामूहिकतामा विश्वास गर्न र सबैको त्याग, बलिदान तथा संघर्षलाई स्वीकार गर्दै अघि बढ्न आग्रह गरेका छन्। कांग्रेस कुनै व्यक्तिको अहंकारमा नभई जनताको सर्वोच्च हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

नयाँ पुस्तालाई अवसर, अनुभवी पुस्तालाई सम्मान

देउवाले युवा पुस्ता अघि बढ्नुपर्ने भए पनि त्यसको अर्थ पाका तथा अनुभवी सबै खराब हुन् भन्ने भाष्य सही नभएको बताएका छन्। सामाजिक सञ्जालमा आउने लोकप्रियता वा ‘भ्युज’को पछाडि लागेर नेपाली कांग्रेसको दायित्व नबिर्सन उनले युवा नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

आफूसँग राजनीतिक रूपमा लिनुपर्ने केही नभए पनि आफ्नो राजनीतिक अनुभव मुलुक र पार्टीले उपयोग गर्न सक्ने र त्यो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको उनले बताएका छन्।

उनले आफूले माओवादी सशस्त्र द्वन्द्वदेखि मुलुकका विभिन्न जटिल राजनीतिक घटनाक्रम तथा नेपाली कांग्रेसभित्रका विवाद समाधानका क्रममा मिलाप गराएको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन्।

आत्मसमीक्षा र मार्ग सुधारप्रति प्रतिबद्ध छौं’

देउवाले नेपाली कांग्रेस आत्मसमीक्षा र मार्ग सुधारप्रति प्रतिबद्ध रहेको बताएका छन्। पार्टी कतै विचलित भएको भए सुधार गर्ने र कतै चुक भएको भए पुनः उठ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कांग्रेसको यात्रा निरन्तर सुधारको यात्रा हुने बताएका छन्।

तराईदेखि हिमालसम्मका नागरिकका सुझाव, अपेक्षा र आकांक्षालाई पार्टीको आगामी यात्राको मार्गदर्शन बनाउने उनको भनाइ छ।

राष्ट्रिय एकता र मेलमिलापमा जोड

अपिलको अन्तिम भागमा देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्। २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी तथा प्रजातान्त्रिक शक्ति एक हुनुपर्ने समय आएको उद्घोष गरेको प्रसंग उल्लेख गर्दै देउवाले अहिले पनि राष्ट्रिय एकतालाई मजबुत बनाउन सर्वपक्षीय सहमतिको आवश्यकता रहेको बताएका छन्।

उनले विगतका विभाजन र विद्वेषका घाउ निको पार्दै प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्न आग्रह गरेका छन्। प्रत्येक बालबालिकाले निर्भीक सपना देख्न सक्ने, ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाउने र प्रत्येक समुदायले समृद्धि तथा अवसरका साथ अघि बढ्न सक्ने नेपाल निर्माण गर्नुपर्ने उनको अपिल छ।

देउवाले सार्वजनिक जीवनमा आलोचना र प्रत्यालोचना स्वाभाविक हुने भन्दै आफूले जीवनभर राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गरेका छन्। कानुन र नीतिविपरीत कुनै काम नगरेको उल्लेख गर्दै उनले आफ्नो जीवन ‘खुला किताब’ भएको बताएका छन्।

उनले जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान–कानुन तथा नैतिक मूल्य–मान्यताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यी विषयमा आफूले कसैसँग सम्झौता नगर्ने पनि उनले स्पष्ट पारेका छन्।

‘नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु’ भन्दै देउवाले विनम्रता, समर्पण र प्रेमका साथ देश र जनताको सेवा गर्न आफू तत्पर रहेको बताएका छन्।

अपिलको अन्त्यमा उनले नेपाली कांग्रेसप्रतिको आफ्नो अटुट विश्वास र माया कहिल्यै कम नहुने बताएका छन्।

जय नेपाल।

— शेरबहादुर देउवा
२०८३ साउन २८ गते

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected