0Shares

पोखरा । भारतीय दूतावास, पेन्सन वितरण कार्यालय पोखराले भारतको ८०औँ स्वतन्त्रता दिवसविविध सांस्कृतिक तथा औपचारिक कार्यक्रमका साथ मनाएको छ।

कार्यक्रमको शुभारम्भ पेन्सन वितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्नल चितरञ्जन साहुले भारतीय राष्ट्रिय ध्वज फहराएर गरेका थिए । समारोहमा नेपाल र भारतका विभिन्न परम्परागत तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएका थिए। नृत्य तथा सांस्कृतिक प्रस्तुतिले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध र आपसी एकताको सन्देश दिएको थियो।

स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री विद्यालय, पोखराका उत्कृष्ट अंक हासिल गरेका तथा जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। पोखराका प्रतिष्ठित शिक्षाविद् जर्ज जोन तथा ब्रिटिश आर्मीका पूर्व कर्नल जे.बी. क्रसले विद्यार्थीहरूलाई पुरस्कार, पदक तथा सम्मानपत्र प्रदान गरिएको थियो।

समारोहमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व, भूपू सैनिक, तिनका सन्तति तथा पोखरामा बसोबास गर्दै आएका भारतीय मूलका नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमपछि ठूलो संख्यामा उपस्थित भूपू सैनिक, तिनका सन्तति तथा भारतीय मूलका नागरिकहरूका लागि जलपानको समेत व्यवस्था गरिएको पब्लिक रिलेशन अफिसर भुषण पाण्डेले जानकारी दिए।

भारतले सन् १९४७ अगस्ट १५ मा लामो ब्रिटिश औपनिवेशिक शासनबाट मुक्ति पाएको सम्झनामा प्रत्येक वर्ष स्वतन्त्रता दिवस मनाउँदै आएको छ। यो दिन भारतीय जनताको आत्मनिर्णयको अधिकार, सार्वभौमसत्ता, लोकतन्त्र र स्वतन्त्रताको प्रतीकका रूपमा लिइन्छ।

स्वतन्त्रता आन्दोलनमा योगदान पुर्‍याउने महात्मा गान्धी, भगत सिंह, सुभाषचन्द्र बोस लगायतका अनगिन्ती स्वतन्त्रता सेनानीको संघर्ष र बलिदानलाई यस अवसरमा स्मरण गरिन्छ।

पोखरामा आयोजना हुने यस्ता कार्यक्रमले भारत–नेपालबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै भूपू सैनिक तथा उनीहरूका परिवारको योगदानको सम्मान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected