
काठमाडौं — नेपाल प्रेस युनियनले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष किशोर श्रेष्ठको पक्राउ, उनको निवास तथा जनआस्था साप्ताहिकको कार्यालयमा गरिएको खानतलासी र सञ्चार सामग्री नियन्त्रणमा लिइएको घटनाप्रति कडा आपत्ति जनाएको छ। श्रेष्ठको रिहाइको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका पत्रकारमाथि प्रहरीले गरेको धरपकडको समेत युनियनले निन्दा गरेको छ।
नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठको पक्राउ तथा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथिको धरपकडलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भनेका छन्। गृह प्रशासनबाट पत्रकार तथा सञ्चारमाध्यमलाई त्रसित बनाउने गरी भइरहेका गतिविधिप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन्।
विज्ञप्तिमा कुनै समाचार वा सामग्रीप्रति आपत्ति भए कानुनी उपचारका स्पष्ट बाटा हुँदाहुँदै प्रहरी परिचालन गरी पत्रकारलाई पक्राउ गर्ने, निवास तथा सञ्चारगृहमा छापा मार्ने र सञ्चारकर्मीमाथि धरपकड गर्ने कार्य लोकतान्त्रिक शासन व्यवस्थाका मूल्यमान्यताविपरीत भएको उल्लेख छ।
समाचारका स्रोत नियन्त्रण तथा निगरानी गर्ने उद्देश्यले पत्रकारको घर र सञ्चारगृहमा छापा मारिएको दाबी गर्दै युनियनले यस्तो कार्यले संविधानप्रदत्त प्रेस स्वतन्त्रताको समेत उपहास गरेको जनाएको छ।
युनियनले निजी सञ्चारमाध्यमको विज्ञापन रोक्ने, सञ्चारगृहका गेटमा सवारीसाधन राखेर त्रसित बनाउने तथा पत्रकार र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने गतिविधिप्रति पनि प्रश्न उठाएको छ। यस्ता गतिविधिमा सत्तापक्षीय संरक्षण वा संलग्नता देखिनु लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि गम्भीर चिन्ताको विषय भएको युनियनको भनाइ छ।
प्रेस युनियनले पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै समाचार कक्षबाट कम्प्युटरलगायत सञ्चार सामग्री नियन्त्रणमा लिने, समाचार स्रोतमा निगरानी गर्ने, प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार मिचेर पत्रकारलाई पक्राउ गरी मुद्दा चलाउने तथा सञ्चारमाध्यमलाई त्रसित र दबाबमा राख्ने कार्य तत्काल रोक्न सरकारसँग आग्रह गरेको छ।
युनियनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक सुनिश्चितता कायम गर्न र सञ्चारकर्मीलाई निर्बाध रूपमा काम गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षणसमेत गराएको छ।













