0Shares

लक्ष्यको १२२ प्रतिशत योगदान, इसामे क्षेत्रका उत्कृष्ट सात डिष्ट्रिक्टभित्र

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे नेपालले लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (एलसिआइएफ) मा योगदान तथा लक्ष्य प्राप्तिको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। लायन वर्ष २०२६/२७ को सुरुवातमै निर्धारित लक्ष्यको १२२ प्रतिशत योगदान पूरा गर्दै डिष्ट्रिक्ट ३२५ जे नेपाल नेपालका १५ डिष्ट्रिक्टमध्ये लक्ष्य पूरा गर्ने पहिलो तथा एकमात्र डिष्ट्रिक्ट बन्न सफल भएको हो।

डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर पुरुषोत्तम प्रसाद पराजुलीका अनुसार डिष्ट्रिक्ट ३२५ जे नेपाल इसामे क्षेत्रमा रहेका डिष्ट्रिक्टमध्ये उत्कृष्ट सातभित्र समेत पर्न सफल भएको छ।

पराजुलीका अनुसार इसामे क्षेत्रमा रहेका विभिन्न डिष्ट्रिक्टमध्ये ११ वटा डिष्ट्रिक्टले लायन वर्षको सुरुवातमै आफ्नो निर्धारित लक्ष्य हासिल गरेका छन्। तीमध्ये डिष्ट्रिक्ट ३२२ बी१ ले निर्धारित लक्ष्यको २९४ प्रतिशत योगदानसहित सबैभन्दा उच्च उपलब्धि हासिल गरेको छ भने डिष्ट्रिक्ट ३२५ जे नेपालले १२२ प्रतिशत लक्ष्य पूरा गर्दै उल्लेखनीय प्रदर्शन गरेको हो।

डिष्ट्रिक्ट ३२५ जे नेपालको यो उपलब्धिमा सदस्यहरूको सक्रिय सहभागिता र एलसिआइएफप्रति देखाएको प्रतिबद्धता प्रमुख आधार रहेको डिष्ट्रिक्ट गभर्नर प्रजापति बास्तोलाले बताए।

लायन वर्षको सुरुवातमै डिष्ट्रिक्टका ४४ जना सदस्यले व्यक्तिगत रूपमा जनही १ हजार अमेरिकी डलर योगदान गरेका छन्। यसले फाउन्डेसनप्रतिको सदस्यहरूको विश्वास, सामाजिक सेवाप्रतिको प्रतिबद्धता र मानवीय सेवामा लायन्सको भूमिकालाई थप बलियो बनाएको गभर्नर बास्तोलाको भनाइ छ।

लायन्स अन्तर्राष्ट्रियले विश्वभर स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, दृष्टि संरक्षण तथा भोकमरी न्यूनीकरणलगायतका क्षेत्रमा मानवीय सेवा गर्दै आएको छ। यस्ता सेवामूलक कार्यक्रमलाई प्रभावकारी बनाउन एलसिआइएफको आर्थिक तथा संस्थागत योगदान महत्वपूर्ण मानिन्छ।

डिष्ट्रिक्ट ३२५ जे नेपालले पनि ‘We Serve’ को भावनालाई व्यवहारमा उतार्दै सेवा कार्यक्रमलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाइरहेको गभर्नर बास्तोलाले बताए।

यस वर्ष डिष्ट्रिक्टले ‘You First’ भन्ने अवधारणालाई प्राथमिकतामा राख्दै सदस्यको क्षमता अभिवृद्धि, नेतृत्व विकास र सेवाभावलाई केन्द्रमा राखेर आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको छ।

डिष्ट्रिक्टको वार्षिक योजनाअन्तर्गत ‘You First’ सम्बन्धित कार्यक्रम, विद्यालय सहयोग, रक्तदान, ग्लोबल वार्मिङ तथा वातावरण सचेतना, स्वास्थ्य शिविर, ‘Sight for Kids’ तथा भिजन स्क्रिनिङ, विपद् सहयोग, मधुमेह सचेतना र ‘Hunger Relief’ लगायतका कार्यक्रम समेटिएका छन्। त्यस्तै, नेतृत्व विकास, नयाँ सदस्य अभिमुखीकरण तथा क्लबस्तरीय ओरिएन्टेसन कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।

डिष्ट्रिक्ट नेतृत्वले व्यक्तिगत क्षमता विकासमार्फत संस्थागत सुदृढीकरण सम्भव हुने विश्वास लिएको छ। ‘You First’ अवधारणाले प्रत्येक सदस्यलाई पहिले आफू सक्षम, अनुशासित, दक्ष र प्रतिबद्ध बन्न प्रेरित गर्दै त्यसपछि संस्था र समाजका लागि प्रभावकारी योगदान गर्न उत्प्रेरित गर्ने उद्देश्य राखेको छ।

एलसिआइएफमा लायन वर्षको प्रारम्भिक चरणमै हासिल भएको १२२ प्रतिशत लक्ष्यले डिष्ट्रिक्ट ३२५ जे नेपालको आर्थिक प्रतिबद्धतासँगै सेवाप्रतिको सामूहिक संकल्पसमेत प्रतिबिम्बित गरेको क्याबिनेट सेक्रेटरी जीवन गोर्खालीले बताए। उनका अनुसार ४४ जना सदस्यले गरेको जनही १ हजार अमेरिकी डलरको योगदानले अन्य सदस्यलाई समेत एलसिआइएफमा योगदान गर्न थप प्रेरणा दिएको छ।

डिष्ट्रिक्ट गभर्नर प्रजापति बास्तोला र एलसिआइएफ कोअर्डिनेटर प्रकाश सुवेदीको नेतृत्वमा सदस्यहरूको निरन्तर साथ, सहयोग र सहभागिताबाट आगामी दिनमा अझ प्रभावकारी परिणाम हासिल हुने अपेक्षा गरिएको छ।

डिष्ट्रिक्टले सेवा, नेतृत्व विकास र एलसिआइएफ योगदानलाई सँगसँगै अघि बढाउँदै डिष्ट्रिक्ट ३२५ जे नेपाललाई अझ सक्षम, सशक्त, समावेशी र ऊर्जाशील बनाउने लक्ष्य लिएको छ।

नेपालमा एलसिआइएफको निर्धारित लक्ष्य पूरा गर्ने पहिलो तथा एकमात्र डिष्ट्रिक्टका रूपमा प्राप्त उपलब्धिले डिष्ट्रिक्ट ३२५ जे नेपालको लायन्स यात्रामा नयाँ उत्साह थपेको गभर्नर बास्तोलाले बताए। आगामी दिनमा अझ ठूलो योगदान र प्रभावकारी सेवामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लायन्स अभियानमा डिष्ट्रिक्ट ३२५ जे नेपालको पहिचान थप मजबुत बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected