
पोखरा, ७ भदौ । अविरल वर्षाका कारण बाढीपहिरोबाट प्रभावित कास्कीको अन्नपूर्ण गाउँपालिकाको विपद् व्यवस्थापनका लागि तमु धिं नेपालले ३ लाख रुपैयाँ सहयोग गरेको छ।
अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा तमु धिं नेपालले आफ्नो आकस्मिक राहत कोषमार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो।
मोदीखोलामा पटक–पटक आएको बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ प्रवेश गर्ने सडक बिरेठाँटीदेखि नै अवरुद्ध हुँदा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि स्वास्थ्य, शिक्षा, खाद्यान्न आपूर्ति तथा पर्यटन व्यवसायमा समेत असर परेको भन्दै गाउँपालिकाले तत्काल सडक सञ्चालनका लागि सहयोगको आह्वान गरेको थियो।
आइतबार आयोजित कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ र तमु धिं नेपाल अन्नपूर्ण गाउँपालिका अध्यक्ष श्याम गुरुङलगायतले गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, वडा नं. ९ का अध्यक्ष रमेश गुरुङ, वडा नं. ११ का अध्यक्ष हिमबहादुर गुरुङ तथा कार्यपालिका सदस्य भुपाल घर्तीलाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले मोदीखोलाको बाढीपहिरोका कारण होटल तथा घरहरूमा क्षति पुग्नुका साथै चारवटा वडाको यातायात सेवा अवरुद्ध भएकाले तत्काल राहत तथा सडक सञ्चालनका लागि सहयोग गरिएको बताए।
उनले प्रभावित चारवटै वडा तमु समुदायका ऐतिहासिक गाउँबस्ती रहेको, प्रत्यक्ष प्रभावितमध्ये तमु समुदायका नागरिकसमेत रहेको तथा चारवटै वडामा तमु समुदायका जनप्रतिनिधि रहेकाले सहयोगको सुरुआत गरिएको बताए। अन्नपूर्ण गाउँपालिका तमुमैत्री पालिका भएकाले पनि तमु धिं नेपालले विपद्को समयमा सहयोगलाई प्राथमिकता दिएको उनको भनाइ थियो।
सहयोग ग्रहण गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बाढीपहिरोबाट उत्पन्न विपद् व्यवस्थापनमा तमु धिं नेपालको सहयोग महत्वपूर्ण रहेको भन्दै धन्यवाद व्यक्त गरे। उनले विपद्का बेला संघीय सरकारको पर्याप्त ध्यान पुग्न नसकेको र प्रदेश सरकारसँग सहयोगका लागि आग्रह गरिएपछि केही सहयोगको वातावरण बनेको बताए।
स्थानीय सरकार आफ्नै स्रोतसाधनबाट सक्दो प्रयास गरिरहेको बताउँदै अध्यक्ष केसीले विभिन्न संघसंस्था तथा समुदायको सहयोगमा मोदीखोलाको बहावलाई व्यवस्थित गरी सडक निर्माणको प्रारम्भिक तयारी भइरहेको जानकारी दिए। उनले दशैंभित्र यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको र सहयोगका लागि नेपाली सेनालाई विशेष धन्यवाद दिए।
अध्यक्ष केसीले आफू गुरुङ समुदायसँगै हुर्केबढेको उल्लेख गर्दै अन्नपूर्ण गाउँपालिकाका ६ वटा वडा तमु बाहुल्य रहेकाले आफू तमु समुदायप्रति सधैं सकारात्मक र सहयोगी रहेको बताए।
उनका अनुसार गाउँपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरी सहयोगका लागि आह्वान गरेपछि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी छ। प्राप्त सहयोग सडक निर्माण तथा विपद् व्यवस्थापनमै खर्च गरिने उनले बताए।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङले स्वागत तथा महासचिव जुनाकुमारी गुरुङले सञ्चालन गरेकी थिइन्।













