0Shares

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा आएको बाढीका कारण रसुवाको टिमुरे बजारलगायत क्षेत्रमा ठूलो क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै लायन्स क्लब्स इन्टरनेसनलले विपद् व्यवस्थापन, उद्धार तथा राहतका लागि आफ्ना मातहतका निकायलाई तयारी अवस्थामा रहन आह्वान गरेको छ।

लायन्स क्लब्स इन्टरनेसनलका इन्टरनेसनल डाईरेक्टर राजन लम्सालले सार्वजनिक अपिलमार्फत त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउँदै सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

लम्सालले नेपालभर रहेका लायन्स क्लब तथा स्वयंसेवकहरूलाई सम्भावित विपद्को अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहनसमेत आह्वान गरेका छन्। उद्धार कार्यमा सहयोग गर्नुका साथै आवश्यक राहत सामग्री व्यवस्थापन र वितरणका लागि स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गर्न उनले आग्रह गरेका छन्।

विपद्बाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग जुटाउन लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) बाट प्राप्त हुनसक्ने आपत्कालीन कोष तथा अन्य सहयोगका लागि आवश्यक पहल गर्न आफू पूर्ण रूपमा तयार रहेको अन्तर्राष्ट्रिय निर्देशक लम्सालले बताएका छन्।

“यो कठिन परिस्थितिमा सबैले धैर्यता राखौं, एकजुट बनौं र आवश्यक सहयोगमा जुटौं,” लम्सालको अपिलमा भनिएको छ।

नेपालका विभिन्न क्षेत्रमा अविरल वर्षासँगै बाढी, पहिरो र डुबानका घटना बढिरहेका बेला लायन्स क्लब्स इन्टरनेसनलको यो आह्वानलाई विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

विश्वव्यापी रूपमा सामाजिक सेवा र मानवीय सहयोगमा सक्रिय लायन्सले नेपालमा पनि विभिन्न सामाजिक तथा मानवीय सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। विपद्को समयमा सरकारी निकाय, स्थानीय समुदाय र सामाजिक संघ–संस्थाबीच प्रभावकारी समन्वय तथा स्वयंसेवक परिचालन हुन सके प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।

प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला लायन्स क्लब्स इन्टरनेसनलले आफ्ना क्लब, सदस्य तथा स्वयंसेवकलाई सम्भावित उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन गरेको आह्वानले ‘We Serve’ अर्थात् ‘हामी सेवा गर्छौं’ भन्ने लायन्सको मूल भावनालाई विपद्को घडीमा व्यवहारमै उतार्ने प्रतिबद्धता देखाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected