0Shares

१५औँ महाधिवेशनका लागि कास्कीमा विभिन्न तहका संयोजक चयन 

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूहले कास्कीमा अधिवेशन तयारी तीव्र पारेको छ। समूहले जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र स्थानीय तहमा अधिवेशन तयारीका लागि संयोजक तोकेको छ।

कास्की जिल्ला संयोजकमा ऋषिराम काफ्ले चयन भएका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा विकास लामा गुरुङ, २ मा राजेन्द्र बराल र ३ मा पदम बस्ताकोटी चयन भएका छन्।

त्यस्तै पोखरा महानगरपालिकाको संयोजकमा मिलनप्रसाद तिवारी, रूपा गाउँपालिकामा ढकबहादुर थापा, मादीमा खिमबहादुर जिसी र अन्नपूर्णमा भरतबहादुर केसी चयन भएका छन्। माछापुच्छ्रे गाउँपालिकाको संयोजक भने चयन हुन बाँकी रहेको काफ्लेले जानकारी दिए।

महाधिवेशन तयारीका क्रममा चयन भएका संयोजकहरूले आ–आफ्नो क्षेत्रको अधिवेशन प्रक्रिया अघि बढाउनेछन्।

कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर दुई पक्षबीच फरक तयारी भइरहेको छ। गगन थापा नेतृत्वको पक्षले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ। उक्त पक्षले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाएको थियो।

यता देउवा पक्षले भने असोज १५ गते वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्तावसहित छुट्टै संगठनात्मक तयारी अघि बढाएको छ। प्रस्तावित कार्यतालिकाअनुसार असोज २० मा पालिका, असोज २३ मा क्षेत्रीय, कात्तिक १५ मा जिल्ला र मंसिर ४ मा प्रदेश अधिवेशन गर्ने उल्लेख छ।

कास्कीमा असोज ३ र ४ गते भएको वडा अधिवेशनमा सहभागी नभएका केही नेता–कार्यकर्ता देउवा पक्षले अघि सारेको असोज १५ गतेदेखि सुरु हुने प्रक्रियामा सहभागी हुने तयारीमा छन्।

असोज ३ गतेको प्रक्रियामा सहभागी नभएका नेताहरूमा पूर्वकेन्द्रीय सदस्य गुरु बराल, महासमिति सदस्य शोभियतबहादुर अधिकारी, दुर्गाप्रसाद तिमिल्सिना र ऋषिराम काफ्ले, महाधिवेशन प्रतिनिधि पोषनाथ शर्मा, गण्डकी प्रदेश सदस्य आशिक गुरुङ तथा प्रदेश प्रतिनिधि गणेशबहादुर भट्टराईलगायत रहेको स्थानीय स्रोतले जनाएको छ।

त्यस्तै विकास लामा गुरुङ, गोविन्द एलसी (लामिछाने), मिलन तिवारी, पदम बस्ताकोटी, प्रेम बराल, प्रेमलाल पुन, राजेन्द्र बराल, दीपक पौडेल, विपिन पौडेल, ढकबहादुर थापा र अञ्जनजंग थापालगायतका नेताहरू पनि असोज १५ गतेदेखि सुरु हुने अधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा रहेको बताइएको छ।

गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ, महिला संघकी पूर्वकेन्द्रीय सदस्य आनन्दी राणा कार्की तथा महाधिवेशन प्रतिनिधि चन्द्रावती वाग्ले पौडेलले पनि असोज ३ गतेको वडा अधिवेशन प्रक्रियामा सहभागिता जनाएका थिएनन्। सरस्वती गुरुङले वडा अधिवेशन उद्घाटन गरे पनि क्षेत्रीय प्रतिनिधि बन्न अस्वीकार गरेकी थिइन्।

कास्कीमा जिल्ला, क्षेत्र र पालिका तहका तयारी समिति गठनसँगै देउवा पक्षले असोज १५ गतेदेखि आफ्नो अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected