
नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक पुनः सञ्चालनमा आउने, पहिरो र वर्षाका कारण यात्रा गर्दा सावधानी अपनाउन गाउँपालिकाको आग्रह
अन्नपूर्ण कास्की । बाढी र पहिरोका कारण लामो समयदेखि अवरुद्ध नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक भोलि (मंगलबार) देखि पुनः सञ्चालनमा आउने भएको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रारम्भिक पुनर्निर्माण तथा मर्मत कार्य सम्पन्न भएसँगै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्।
यस वर्षको मनसुनमा मोदी खोला र किम्रोंग खोलामा पटक–पटक आएको भीषण बाढीले सडकखण्डमा ठूलो क्षति पुर्याएको थियो। बाढीले सडक कटान गर्नुका साथै विभिन्न स्थानमा पहिरो जाँदा अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर ८, ९, १० र ११ सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएका थिए। यसले स्थानीय बासिन्दाको आवागमनसँगै पर्यटकीय गतिविधि र व्यवसायमा समेत असर पारेको थियो।
सडक अवरुद्ध भएपछि गाउँपालिकाको समन्वयमा गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला विपद् व्यवस्थापन समिति, हाइड्रोपावर कम्पनीहरू, सम्बन्धित निकाय तथा निर्माण व्यवसायी र प्राविधिक टोली परिचालन गरिएको विज्ञप्तिमा उल्लेख छ।
अवरुद्ध सडकखण्डमा पुनर्निर्माण, पहिरो तथा माटो हटाउने, सडक सम्याउने र यातायात सञ्चालनयोग्य बनाउने काम तीव्र रूपमा अघि बढाइएको गाउँपालिकाले जनाएको छ। सोमबार प्रारम्भिक पुनर्निर्माण तथा मर्मत कार्य सम्पन्न भएपछि मंगलबारदेखि सडक सञ्चालनमा आउने भएको हो।
सडक सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा, पर्यटक, व्यवसायी तथा सर्वसाधारणलाई आवागमनमा सहजता पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी घान्द्रुकलगायतका पर्यटकीय क्षेत्रमा जाने यात्रु तथा पर्यटन व्यवसायीलाई राहत पुग्ने देखिएको छ।
यद्यपि, सडकका विभिन्न स्थानमा वर्षा र पहिरोका कारण पुनः अवरोध आउन सक्ने सम्भावना रहेकाले गाउँपालिकाले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ। सडकको अवस्थाबारे आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।
सडक पुनः सञ्चालनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण निकाय, चन्दादाता, जनप्रतिनिधि, कर्मचारी, प्राविधिक टोली, निर्माण व्यवसायी, स्थानीय बासिन्दा तथा सरोकारवालालाई गाउँपालिकाले धन्यवादसमेत व्यक्त गरेको छ।












