
बालबालिकाको संरक्षणदेखि युवा रोजगारी, वृद्धवृद्धाको स्वास्थ्य र निजी क्षेत्रका समस्या समाधानलाई प्राथमिकता दिने प्रतिबद्धता

स्याङ्जा — नेपाली कांग्रेसका युवा नेता तथा सफल व्यवसायी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले बालबालिकाको संरक्षण, युवाको शिक्षा र रोजगारी, वृद्धवृद्धाको स्वास्थ्य तथा निजी क्षेत्रका समस्या समाधानलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
ढकालले राजनीतिलाई पद प्राप्तिको माध्यमभन्दा पनि नीति निर्माण र सेवामार्फत समाज तथा मुलुकको आर्थिक रूपान्तरण गर्ने अवसरका रूपमा लिएको बताएका छन्। विभिन्न क्षेत्रमा दुई दशकभन्दा लामो समय काम गरेको अनुभवलाई पार्टीको नीति निर्माणमा उपयोग गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–६ फापरथुमका ढकाल विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। बालबालिका, वातावरण, सहकारी, बैंकिङ तथा वित्तीय संस्था र कृषि क्षेत्रमा काम गर्दै उनले आफ्नो सामाजिक तथा व्यावसायिक पहिचान बनाएका छन्।
२०५७ सालमा अनाथ तथा गरिब बालबालिकाको संरक्षणका लागि स्याङ्जामा सहारा बालगृह स्थापना गरेका ढकालले २०५९ मा रोयल सहकारी स्थापना गरी सहकारी अभियानमा समेत सक्रियता देखाए। २०६३ सालमा मुक्तिनाथ विकास बैंक स्थापना प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी पछिल्लो डेढ दशकदेखि नेपालको वित्तीय क्षेत्रमा सक्रिय छन्।
पछिल्लो एक दशकदेखि मुक्तिनाथ कृषि कम्पनीमार्फत कृषि क्षेत्रमा मूल्य शृंखला र रोजगारी सिर्जनाको अभियान चलाउँदै आएका ढकालले औद्योगिक विकाससँगै वातावरणमा परेको प्रभावबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्ष राख्दै आएका छन्। उनी नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका संस्थापक सदस्यमध्येका एकसमेत हुन्।
जनजी विद्रोहपछि कांग्रेसको विशेष महाधिवेशनमा सक्रिय ढकाल २०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं. १ बाट कांग्रेसका उम्मेदवारसमेत बनेका थिए। विभिन्न क्षेत्रमा काम गरेर हासिल गरेको अनुभवलाई अब कांग्रेसको नीति र संगठन सुदृढीकरणमा प्रयोग गर्ने उनको भनाइ छ।
‘समाज र निजी क्षेत्रले भोग्दै आएका समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्छ,’ ढकालले भनेका छन्, ‘बालबालिकाको पोषण, युवाको शिक्षा र रोजगारी, वृद्धवृद्धाको स्वास्थ्य, निजी क्षेत्रका समस्या र मुलुकको आर्थिक अवस्था सुधारका लागि आफ्नो क्षमताले भ्याएसम्म काम गर्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको हुँ।’




