0Shares

पोखरा, कात्तिक २७ गते । पोखराका मासु तथा माछा पसलमा अनुगमन गर्दा सरसफाइको कमी, दर्ता तथा नवीकरणमा लापरबाही र खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन भएको पाइएको छ। कतिपय पसलमा मासु खुला राखिएको, माछा फ्रिजबाहिर राखिएको र मासुमा रङ प्रयोग गरिएको भेटिएको छ।

चाडपर्वका बेला उपभोग्य वस्तुको मूल्यवृद्धि, गुणस्तरहीन सामग्रीको बिक्री र उपभोक्ता ठगीका गुनासा बढेपछि पोखरा महानगरपालिकाले बजार अनुगमन तीव्र बनाएको हो।

महानगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिकी संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा मंगलबार बिरौटा, पृथ्वीचोक, सिद्धार्थचोक, बसपार्क र सांग्रिलाचोक क्षेत्रका मासु तथा माछा पसलमा अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा पोखरा–९ बसपार्कका कृष्ण प्रेस हाउस, न्यू मिना गुरुङ फ्रेस हाउस, राजु फिस हाउस, समिट फ्रेस हाउस र मनोज फिस हाउस तथा पोखरा–१७ का एस सिटी मिट सप, केसी मिट सप र प्रवेश फ्रेस हाउसमा निरीक्षण गरिएको थियो। पोखरा–८ का आतिस फ्रेस हाउस र दिप्सन फ्रेस हाउसमा पनि अनुगमन गरिएको थियो।

महानगरको पशु विकास अधिकृत एवं पशु शाखा प्रमुख डा. पवन पाण्डेका अनुसार अधिकांश पसल दर्ताबिना सञ्चालनमा रहेको र सरसफाइमा पर्याप्त ध्यान नदिएको पाइएको छ। केही दर्ता भएका पसलको नवीकरण नभएको, तौल गर्ने उपकरण दर्ता नगरिएको तथा मासु र माछाको भण्डारणमा निर्धारित मापदण्ड पालना नभएको उनले बताए।

अनुगमनका क्रममा राजु फिस हाउसमा व्यवसाय नवीकरण नभएको, तौल गर्ने उपकरण दर्ता नगरिएको र बिक्रीस्थल फोहोर रहेको भेटिएको थियो। उक्त पसललाई सरसफाइ गरी तीन दिनभित्र आवश्यक कागजातसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ।

समिट फ्रेस हाउसमा कुखुरा काट्ने स्थानमै जिउँदो कुखुरा राखिएको र सरसफाइ कमजोर रहेको पाइएको थियो। मनोज फिस हाउसमा तौल गर्ने उपकरण दर्ता नभएको, माछा काट्ने स्थान फोहोर रहेको र माछा फ्रिजमा नराखी बाहिर राखिएको महानगरकी उद्योग शाखा अधिकृत कल्पना बरालले बताइन्।

त्यस्तै, आतिस फ्रेस हाउसमा तौल गर्ने उपकरण दर्ता नगरेको र मासु खुला राखेको भेटिएको थियो। न्यू मिना गुरुङ फ्रेस हाउसमा मासुमा रङ प्रयोग गरिएको, तौल गर्ने उपकरण दर्ता नभएको र मासु कार्टुनमा राखिएको पाइएको महानगरले जनाएको छ। उक्त पसललाई सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ।

पाण्डेका अनुसार विगतको तुलनामा केही पसल व्यवस्थित देखिए पनि कानुनी प्रक्रिया र स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने अवस्था छ। कैफियत भेटिएका व्यवसायीलाई आवश्यक कागजातसहित महानगर कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

“उपभोक्ताको गुनासोपछि अनुगमन गरेका हौँ। महानगरको अनुगमन तिहारसम्म चलिरहन्छ,” पाण्डेले भने, “अनुगमनका क्रममा कैफियत देखिएका पसललाई सचेत गराइएको छ। फेरि अनुगमन गर्दा सुधार नभए जरिवाना गरिनेछ।”

अनुगमनमा उपप्रमुख गुरुङ, डा. आशिष गौतम, गुणस्तर तथा नापतौल कार्यालयका रघुनाथ पौडेल, पशु शाखा प्रमुख डा. पवन पाण्डे, नवराज अधिकारी, सहकारी तथा उद्योग शाखाका लेखा अधिकृत राजु सुवेदी तथा पत्रकार धनबहादुर गुरुङ र विजय नेपालीलगायत सहभागी थिए।

महानगरपालिकाले चाडपर्व अवधिभर बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected