
सामाजिक उत्तरदायित्वअन्तर्गत कक्षा ६ देखि १२ सम्मका विद्यार्थी लाभान्वित
तनहुँ । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित एक विद्यालयका विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ ।
नेपाल टेलिकमले विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झोला वितरण गरेको हो । विद्यार्थीको शैक्षिक यात्रालाई सहज बनाउने तथा अध्ययनप्रति प्रोत्साहन गर्ने उद्देश्यले झोला वितरण गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका प्रशासकीय अधिकृत दिनेशमणि लामिछानेले जानकारी दिए ।
उनका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रको विकास र विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले विद्यालय छनोट गरी झोला वितरण गरिएको हो । सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायसँगको सम्बन्ध थप सुदृढ बनाउने नेपाल टेलिकमको लक्ष्य रहेको उनले बताए ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष हरि पण्डितको अध्यक्षतामा भएको झोला वितरण कार्यक्रममा भानु नगरपालिकाका उपप्रमुख उमा गोतामे प्रमुख अतिथि तथा नेपाल टेलिकम पोखराका लेखा प्रमुख सिताराम थापा क्षेत्री विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका प्रशासकीय अधिकृत दिनेशमणि लामिछाने, नेपाल टेलिकम पोखराका व्यापार प्रमुख विजय खनाल, दूरसञ्चार कार्यालय डुम्रेका प्रमुख मुकेश मण्डल, भानु नगरपालिका–१२ का वडा सदस्य सुष्मा राना, विद्यालय व्यवस्थापन समिति सदस्य विष्णुबहादुर अधिकारी तथा नगरपालिकाका कर्मचारी नवल अधिकारीलगायतको उपस्थिति थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष हरि पण्डितले आफ्नो विद्यालयलाई छनोट गरी विद्यार्थीलाई झोला उपलब्ध गराएकोमा नेपाल टेलिकमप्रति आभार व्यक्त गरे । उनले यस्ता सहयोगले विद्यार्थीको शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै विद्यालयले आगामी दिनमा पनि संस्थाबाट निरन्तर सहयोगको अपेक्षा गरेका थिए ।












