२०८३ मंसिर १२, शनिबार Saturday, November 28, 2026
खबर

नवआदर्शको कमान्ड सुशील केसीलाई, अध्यक्षमा भण्डारी पराजित

पोखरा । पोखराको सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा सक्रिय नवआदर्श सामुदायिक विकास समाजको नेतृत्व सुशील केसीले गर्ने भएका छन् । संस्थाको अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा अर्जुन भण्डारीलाई ३२ मतले पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।

शनिबार सम्पन्न संस्थाको ३०औँ साधारणसभा तथा १६औँ अधिवेशनमा भएको निर्वाचनमा केसीले १५० मत प्राप्त गर्दा भण्डारीले ११८ मत पाए । कुल २७७ मत खसेको निर्वाचनमा ९ मत बदर भएको थियो ।

त्यसैगरी प्रथम उपाध्यक्षमा शोभा बानियाँ निर्वाचित भएकी छन् । उनले १८० मत प्राप्त गर्दा प्रतिस्पर्धी हरिबहादुर थापाले ९० मत पाए । अध्यक्ष र प्रथम उपाध्यक्षबाहेकका अन्य पदमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक विष्णुप्रसाद शर्माले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिको द्वितीय उपाध्यक्षमा विष्णुमाया बानियाँ, सचिवमा राजकुमार पौडेल, कोषाध्यक्षमा निर्मल पौडेल, सहसचिवमा गीता भण्डारी र सहकोषाध्यक्षमा विकल सिजापती मगर चयन भएका छन् । त्यस्तै, सदस्यमा शान्ता केसी, इञ्जिनियर सुजन आचार्य, बलराम थापा र राजकुमार केसी निर्वाचित भएका छन् । कार्यसमितिका चार सदस्य पद रिक्त राखिएको छ । ती पदमा कार्यसमितिको बैठकले मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष केसीले बताए ।

निर्वाचन समितिको निर्वाचन अधिकृतमा विष्णुप्रसाद शर्मा तथा सदस्यमा छबिन्द्रबहादुर थापा र केशव आचार्य रहेका थिए ।

निर्वाचित भएपछि अध्यक्ष केसीले नवआदर्श सामुदायिक विकास समाजले सामाजिक तथा सांस्कृतिक पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै संस्थाका गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

हरेक वर्ष आयोजना हुँदै आएको तीज महोत्सव संस्थाको विशेष पहिचान बनेको बताउँदै उनले एम्बुलेन्स तथा शववाहन सञ्चालन, गोस्तेघाट खेलमैदान निर्माणलगायतका सामाजिक कामलाई निरन्तरता दिने बताए । खेलकुद, शिक्षा, स्वास्थ्य तथा लोककला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनका क्षेत्रमा संस्थाले गर्दै आएका गतिविधिलाई अझ विस्तार गर्दै समुदायसँग जोडिएका नयाँ कार्यक्रम अघि बढाउने उनको भनाइ थियो ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले नवआदर्श सामुदायिक विकास समाजले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदान उदाहरणीय रहेको बताए । स्थानीय समुदायको हित र विकासका लागि संस्थाले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सामाजिक गतिविधिलाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।

त्यसैगरी पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना तथा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमलगायतले संस्थाले सामाजिक, सांस्कृतिक तथा विकासका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द्वितीय उपाध्यक्ष हरिबहादुर थापाले स्वागत र सचिव शोभा बानियाँले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

अधिवेशनमा अध्यक्ष दिनेश भण्डारी, सचिव शोभा बानियाँ र कोषाध्यक्ष विष्णुमाया बानियाँले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन सर्वसम्मत पारित भएका थिए ।

Read more

नेपाल टेलिकमद्वारा विद्यार्थीलाई विद्यालय झोला वितरण

सामाजिक उत्तरदायित्वअन्तर्गत कक्षा ६ देखि १२ सम्मका विद्यार्थी लाभान्वित तनहुँ । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित एक विद्यालयका विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको…

सत्ता परिवर्तनदेखि प्रणाली सुधारसम्म : जेन–जी विद्रोह र बालेन्द्र शासनको परीक्षा

जेन–जी विद्रोहले जन्माएको नयाँ राजनीतिक जनादेशसँगै सिंहदरबारको शासनशैलीमा परिवर्तनका सङ्केत देखिएका छन्। प्रशासनिक चुस्तता, मितव्ययिता र नतिजामुखी कार्यशैलीको प्रयासबीच सुशासन, पारदर्शिता र संस्थागत सुधारमार्फत जनअपेक्षा पूरा गर्नु वर्तमान…

सरकारका कामको निगरानी र कार्यान्वयनमा सक्रिय हुन पार्टी पङ्क्तिलाई मन्त्री श्रेष्ठको आग्रह

पोखरा । सरकारका नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयनका लागि पार्टीका नेता तथा कार्यकर्ताले निगरानी, विश्लेषण र सहजीकरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त…

गण्डकीका ऊर्जा र जलस्रोत आयोजना अघि बढाउन संघ–प्रदेश सहकार्यमा जोड

पोखरा । गण्डकी प्रदेशमा ऊर्जा विकासदेखि जलस्रोत व्यवस्थापनसम्मका आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउन संघ र प्रदेश सरकारबीच सहकार्य र समन्वय बढाउने विषयमा छलफल भएको छ। ऊर्जा, जलस्रोत तथा…

गण्डकी कांग्रेसको नेतृत्व सर्वसम्मत, मेखलाल श्रेष्ठ सभापतिमा निर्वाचित

संगठन सुदृढीकरण र एकताबद्ध कांग्रेस निर्माण मेरो प्राथमिकता : सभापति श्रेष्ठ पोखरा, ११ मंसिर । नेपाली कांग्रेस गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट मेखलाल श्रेष्ठ सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्…

जन्मजात जटिल स्वास्थ्य समस्या देखिएको नवजात शिशुको हेलिकप्टरबाट उद्धार

बडिगाडको ६ घण्टे शिशुलाई उपचारका लागि पोखरा ल्याइयो, प्रदेश सरकारको पहलमा आकस्मिक उद्धार पोखरा । बागलुङको दुर्गम क्षेत्र बडिगाड गाउँपालिकामा जन्मजात जटिल स्वास्थ्य समस्या देखिएका नवजात शिशुको जीवन…