२०८३ कार्तिक १६, सोमबार Monday, November 2, 2026
विदेश

भेनेजुएलामा राजनीतिक उथलपुथल, राष्ट्रपति मदुरो सत्ताच्यूत भएको घोषणा

0Shares

भेनेजुएलाको संसदका नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको “अन्तरिम राष्ट्रपति” घोषणा गर्नुभएको छ । गुएइदोको उक्त घोषणासँगै राजधानी काराकासका सडकमा दशौं हजारले विपक्षी नेताको समर्थनमा खुशी मनाउँदै जुलुस निकालेका छन् ।

गुएइदोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको पूर्ण समर्थन रहने घोषणा गर्नुभएको छ भने युरोपेली युनियन, भेनेजुएलाका छिमेकी देशहरु ब्राजिल, कोलम्बिया, चिली, अर्जेन्टिना समेतले गुएइदोलाई समर्थन गरेका छन् ।

राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता गुएइदोको समर्थन गरेको भन्दै अमेरिकी कुटनीतिज्ञलाई भेनेजुएला छाड्न आदेश दिनुभएको छ । यद्यपी राष्ट्रपति मदुरोको पछिल्लो अवस्थाका बारेमा केही सार्वजनिक भएको छैन ।

भेनेजुएलाको संसद, सेना र अदालत सबै विभाजित भएको ठानिएको छ । राजधानी काराकास समेत देशका सबै प्रमुख शहरमा राष्ट्रपति मदुरोको विपक्षमा नारा जुलुस भएका छन् । नारा जुलुसकै क्रममा भएको झडपमा एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु पनि भएको छ ।

देशभित्र फैलिएको अराजक स्थितिका कारण कतिपय स्थानमा लुटपाटका घटना भएका छन् ।

“आज जे भएको छ यसले हामीमा एउटा आशाको सञ्चार भएको छ, यो अति आवश्यक थियो । अब हामीलाई अघि बढ्ने बाटो खुलेको छ,” सरकार विरोधी जुलुसमा सहभागी ४३ वर्षे प्राध्यापक जोजे ग्रेगोरियो फ्लोरेसले बताउनुभयो ।

राष्ट्रिय सभाका विपक्षी नेता गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेलगत्तै सडकमा उत्रिएका फ्लोरेसले उक्त आशा र विश्वास व्यक्त गर्नुभएको हो ।

“गुएइदोले जे भन्नुहुन्छ हामीले समर्थन गर्नुको अब विकल्प छैन । उहाँले आफू सदाका लागि राष्ट्रपति हुन्न भन्नुभएको छ, उहाँले अब चुनावको मिति घोषणा गर्नु पर्दछ,” फ्लोरेसले बताउनुभयो । “काराकासको पूरै सहर उहाँको समर्थनमा सडकमा उत्रिएको छ ।”

घोषणालगत्तै सडकमा सवारी साधनले लगातार हर्न बजाएका थिए । कतिपय रङ्गीविरङ्गी पोशाकमा सहभागी प्रदर्शनकारीले भेनेजुएलाको झण्डा फहराएका थिए । प्रदर्शनकारीहरु शहरका एक कुनाबाट अर्को कुनामा मोटरसाइकलमा झण्डा हालेर दौडिरहेका थिए ।

भेनेजुएलाको अर्थतन्त्र धरापमा परेसँगै राष्ट्रपति निकोलास मदुरोको शासन सङ्कटमा परिरहेको थियो । चौतर्फी आलोचना खेपीरहेको मदुरोको शासनका विरुद्धमा लगातार विरोध प्रदर्शन भइरहेका थिए ।

गत वर्ष संयुक्तराज्य अमेरिका र भेनेजुएलाका छिमेकी मुलुकहरुले राष्ट्रपति मदुरोको पुनः निर्वाचनलाई अबैध घोषणा गरेका थिए ।

प्रदर्शनकारीलाई सम्बोधन गर्दै विपक्षी नेता गुएइदोले भन्नुभयो, “हामीलाई थाहा छ, यसले निश्चित परिणाम दिनेछ । हामीले पूर्ण लोकतन्त्र प्राप्त नगर्दासम्म प्रदर्शन जारी रहन्छ । हामी जनताको आशा र अभियानलाई खेर जान दिने छैनौं ।”

एक जना मानव अधिकारवादी वकिल गोन्जालेजले भन्नुभयो, “हुँवा गुएइदो राष्ट्रपति भइसक्नुभो, त्यसका लागि हामी लड्न अझै तयार हुनु परेको छ ।”

0Shares

Read more

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

नेपालमा स्थिरता आए युएईको भिसा सहज बन्नेछ: राजदूत तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल, अबुधाबी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले हाल युएईमा नेपाली नागरिकका लागि कडाइ गरिएको भिसा नीतिको कारण नेपालमा उत्पन्न राजनीतिक अस्थिरता…

हिमालय एअरलाइन्स्‌ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

काठमाडौँ, नेपाल–हिमालय एअरलाइन्स्‌ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ…