नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा सातौं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोश्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ बैशाख २० र २१ मा काठमाण्डौमा हुने भएको छ ।
संघद्वारा असार ५ र ६ गते काठमाण्डौमा आयोजना गरिने १२ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको लागि छनोट प्रतियोगिता समेत रहेको प्रतियोगताको मि. हिमालय तर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ के.जी. माथीको तौल गरि ६ वजन समूहमा प्रतिस्पर्धा गराईने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले जानकारी गराएको हो ।
एउटा क्लब तथा संस्थाले प्रत्येक समूहमा बढिमा दुई खेलाडीलाई प्रतिस्पर्धा गराउन पाउने छ । प्रत्येक वजन समूहका खेलाडीहरुकाबीच २० गते हुने प्रिजजिङ्ग चरणबाट २१ गते हुने अन्तिम चरणका लागि प्रत्येक वजन समूहका ५ खेलाडी छनोट गरिने छ । प्रत्येक वजन समूहका शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले स्वर्ण, रजत र काँस्य पदक, प्रमाण पत्रका साथै नगद २५, १५ र १० हजार प्राप्त गर्नेछन् । यस्तै चौथो र पाँचौ हुने खेलाडीले ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यस्तै प्रत्येक वजन समूहका प्रथम स्थान हात पार्ने खेलाडीहरुले मिष्टर हिमालय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । ओभरअल प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले “मिष्टर हिमालय” उपाधीका साथै नगद २ लाख ५० हजार सहित ट्रफी तथा ब्यानेटले सुसज्जित हुँदै उपाधि हात पार्ने छ ।
प्रत्येक दुई बर्षमा आयोजना हुने मि. हिमालय प्रतियोगिताकै दौरान शारीरिक सुगठन विधा अन्तरगत हुने दोश्रो पुरुष फिट्नेश फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ पनि आयोजना हुनेछ । उक्त स्पर्धामा पुरुष तर्फ १७० सेमि र त्यो भन्दा माथि गरि दुई विधा तथा महिला एथलेटिक्स फिजिक्सका खेलाडीहरुलाई प्रिजजिङ्ग चरणमा प्रतिस्पर्धा गराई प्रत्येक समूहबाट ५ खेलाडी दोश्रो दिन हुने फाईनल चरणका लागि छनोट गरिने छ । फाईनल चरणमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले स्वर्ण, रजत र काँस्य पदक, प्रमाण पत्रका साथै नगद २५, १५ र १० हजार प्राप्त गर्नेछन् । यस्तै चौथो र पाँचौ हुने खेलाडीले ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
काठमाडौंमा संघले आयोजना गर्ने १२ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा यस प्रतियोगिताबाट छानिएका खेलाडीहरुका साथै ३ बर्ष भित्र एशियन तथा विश्व शारीरिक सुगठन प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहलाई उनीहरुको क्षमताका आधार मानि संघको सिफरिसमा स्वतः प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो । मि. हिमालय प्रतियोगिताको अनुमानित बजेट करिव २० लाख रहेको छ ।