0Shares

काठमाडाैं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटको २८.६ प्रतिशत खर्च भएको जनाएको छ ।

सिंहदरबारमा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालयले गत साउनदेखि पुस मसान्तसम्म ३ खर्ब ७५ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको जनाएको हो । छ महिनामा पुँजीगततर्फ ५५ अर्ब ५२ करोड ३ लाख अर्थात् १७.७ प्रतिशत र चालूतर्फ २ खर्ब ९६ अर्ब ५७ करोड ५९ लाख अर्थात ३५.१ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षमा जम्मा ११ खर्ब ९९ अर्ब १५ करोड खर्च हुने अनुमान गरिएको छ । कुल विनियोजनको तुलनामा ९१.२ प्रतिशत हो । मन्त्रालयले संघीय सरकारले गर्ने राजस्व संकलन २६.१ प्रतिशतले वृद्धि भएको जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्षको ६ महिनामा ४ खर्ब २ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो गत वर्षको तुलनामा २६.१ प्रतिशतले वृद्धि भएको हो । यसमा कर राजस्वको वृद्धि २८ प्रतिशत र गैर कर राजस्वको वृद्धि १२.३ प्रतिशत छ । आर्थिक वर्षको अन्त्यसम्ममा परिचालन हुने कूल राजस्व ९ खर्ब १९ अर्ब १९ करोड मध्ये संघीय सर्वसञ्चित कोषमा ८ खर्व ६ अर्ब ५० करोड ६४ लाख जम्मा हुने अनुमान मन्त्रालयको छ । पछिल्लो ६ महिनासम्मको औसत मुद्रास्फीति ४ दशमलव २ प्रतिशत रहको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संघ, प्रदेश र स्थानीय तहमा भइरहेका आर्थिक क्रियाकलापले उच्च आर्थिक वृद्धिका लागि आधारशीला निर्माण भइरहेको बताउनुभयो । विप्रेषण आप्रवाहमा भएको वृद्धि, राजस्व असूलीमा भएको वृद्धि र पूँजीगत खर्चमा भएको वृद्धि जस्ता अर्थतन्त्रका सूचकहरू सन्तोषजनक देखिएको बताउनु भयो । समीक्षा प्रतिवेदनमा प्रदेशहरूलाई वित्तीय हस्तान्तरण अन्तर्गत ३७ अर्ब २९ करोड निकासा भएकोमा ११ अर्ब ४६ करोड खर्च भएको उल्लेख छ । स्थानीय तहलाई ८१ अर्ब ६७ करोड वित्तीय हस्तान्तरण भएको छ । विभिन्न विकास आयोजना कार्यान्वयनको लागि १ खर्ब ११ अर्ब ६३ करोड वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको बताउँदै अर्थमन्त्री खतिवडाले वैदेशिक सहायतातर्फ सरकारको स्रोतबाट खर्च भई सोधभर्ना प्राप्त गर्नुपर्ने रकम ४८ अर्ब ५९ करोड रहेकोमा ३६ अर्ब १४ करोड सोधभर्ना प्राप्त भई सकेको जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवका आयोजनाहरूमा २२ अर्ब ८ करोड अर्थात् २४.९ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, उत्तरदक्षिण (कोशी) लोकमार्ग र उत्तरदक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्गको प्रगति उत्साहजनक देखिएको पनि मन्त्रालयले जनाएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected