अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी यु–२३ च्याम्पियनसिप छनोट खेल्ने नेपाली राष्ट्रिय टोलीको आज विदाई गरिएको छ ।
काठमाडौंमा आज राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिना र एन्फा पदाधिकारीले २३ सदस्सीय नेपाली टोलीको विदाई गरेको हो । टोली आज राती साढे १० बजे दोहा प्रस्थान गर्नेछ ।
विदाई कार्यक्रममा बोल्दै राखेप उपाध्यक्ष तिमल्सिना खेलाडीको सेवा सुविधाका लागि नयाँ व्यवस्था अपनाउन राखेपले तिनवटै तहका सरकारसँग समन्वय गर्ने बताए ।
सन् २ हजार २० मा थाइल्याण्डमा आयोजना हुने च्याम्पियनसिपका लागि मार्च २२ देखि २६ सम्म दोहामा छनोटका प्रतियोगिता हुनेछ । छनोटमा नेपाल रहेको समुह ए मा बलियो टोलीहरु कतार, ओमान र अफगानिस्तान रहेका छन् । नेपालले छनोटको पहिलो खेल ओमानसँग मार्च २२, कतारसँग मार्च २४ र अन्तिम खेलमा अफगानिस्तानसँग मार्च २६ मा प्रतिस्पर्धा गर्नेछ ।
छनोटमा प्रत्येक समुहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानमा रहने उत्कृष्ट चार टोली पनि च्याम्पियनसिपका लागि छनोट हुनेछन् । विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा बाल गोपाल महर्जन र सहायक प्रशिक्षकमा सुमन श्रेष्ठ रहेका छन् ।