0Shares

नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछाने इण्डियन प्रिमियर लिग आइपीएलको १२ औं संस्करण खेल्नका लागि बुधबार दिल्ली जाँदैछन् । दिल्ली जानुअघि संचारकर्मीसँग कुरा गर्दै सन्दिपले आफु निकै उत्साहित रहेको प्रतिक्रिया दिए ।

कुनै पनि प्रतियोगिता खेल्न जाँदा आफूसँग देशको नाम जोडिने भएकाले राम्रो प्रदर्शन गर्ने जिम्मेवारी बोकेर दिल्ली जान लागेको उनले बताए । ‘मलाई यस पटक फेरी नयाँ जिम्मेवारी थपिएको छ । किनकि मसँग मेरो राष्ट्रको नाम जोडिएको हुन्छ,’ सन्दीपले भने, ‘जति राम्रो गर्दै जान्छु हाम्रो लागि राम्रो हुन्छ । खेलाडीहरुको लागि राम्रो हुन्छ ।’

आफ्नो प्रदर्शनले अन्य नेपाली खेलाडीलाई पनि राम्रो प्रेरणा हुने सन्दिपले बताए । नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्न सकेको खण्डमा बल्ल आफ्नो क्षमता प्रमाणित गर्न सक्ने प्रतिक्रिया सन्दिपको छ । यसपटक आफ्नो टोली बलियो रहेको र टोलीबाट उपाधि जित्ने सन्दिपको लक्ष्य छ । ‘खुसी लागेको छ कि हाम्रो टिम निकै राम्रो बनेको छ । मेरो विचारमा यो पटक हामीलाई जित्ने मौका पनि छ,’ सन्दीपले भने ।

गत संस्करण सन्दीपलाई दिल्लीले २० लाख भारुमा अनुबन्ध गरेको थियो । यसपटक पनि दिल्लीले अघिल्लो सिजनकै मुल्यमा उनलाई रिटेन गरेको हो । डेब्यु सिजनको अन्तिम ३ खेलमा उच्च प्रदर्शन गर्दै सन्दीपले ५ विकेट लिएका थिए ।

पछिल्लो एक वर्ष सन्दिप विश्वभरी क्रिकेट खेल्दै निकै ब्यस्त भए । पीएसएलबाट फर्किएर उनले ५ दिन परिवारका साथ विताएका थिए । इण्डियन प्रिमियर लिग शनिबारदेखि शुरु हुँदैछ । सन्दिपको टिम दिल्लीले आइतबार मुम्बई इण्डियन्स विरुद्धको खेलबाट प्रतियोगिता शुरु गर्नेछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected