117Shares

प्रकाश अधिकारीबाट

तनहुँ, ९ भदौ । ‘पवित्र मायालाई मिसायौ जहरमा
म पाईला टेक्दिन तिम्रो सहरमा
बगेर सागरमा तिमी पुगे पनि
ढुङ्गा भैंm रोएर बसें म बगरमा ……।’
उपरोक्त हरफहरु गीती साहित्यमा रुची राख्ने पत्रकार अमरराज नहर्कीको पछिल्लो रचनाको अंश हो । तिम्रो शहर गीती एल्बममा समावेश मर्मस्पर्शी गीतबाट यस क्षेत्रमा आफ्नो उपस्थितिलाई अघि बढाउनुभएका नहर्कीको फेरी अर्को मर्मस्पर्शी गीत बजारमा आएको छ । उहाँ प्रेस युनियन तनहुँका अध्यक्ष, गोरखापत्र दैनिकका तनहुँ समाचारदाता हुनुहुन्छ । पछिल्लो म्यूजिक भिडियोमा स्वेदशमै रोजगारी दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । त्यही भावनाले ओतप्रोत भएर रचना गरिएको नहर्कीको ‘विरानो देश’ नामक गीतको म्युजिक भिडियो बजारमा आएको हो ।
‘हातको रुमाल मैलो भयो धोईदिने कोही छैन
विरानो देशमा मै मरी गए रोईदिने कोही छैन
मरि हालें भने पनि नेपालमै मर्न पाउँ
आँखाभरी झल्किरहन्छ म जन्मेको गाउँ ……….।’

गीत ल्याएको छोटो अवधिमा नै १५ हजार पटक भन्दा बढी हेरिसकिएको छ । स्वदेशमा रोजगारी सृजना गरी विदेश जानुपर्ने बाध्यता अन्त गर्न सन्देश दिने उद्धेश्यले यो म्युजिक भिडियो निर्माण गरिएको भीडीयो निर्माता प्रभा नहर्कीले बताउनुभयो । एउटा गरीव परिवारको युवक धन कमाउने सपना बोकेर विदेश गएको कुराले गीतको कथानक पक्षलाई अघि बढाएको छ ।
विदेशमा बसेको छु म परेर अलमल
निभेको छ मनको बक्ति छैन झलमल
कसको हुन्छ र परदेशमा आउनलाई मन
रुँदै रुँदै आएको म कमाउनलाई धन
विदेशीनुको पीडा यत्तिमै अन्त हुँदैन । विदेशबाट घर परिवार सम्झदाको पीडाले गीतलाई साँच्चै संवदेनशील र मर्मस्पर्शी बनाएको प्रतित हुन्छ । कर्णप्रिय स्वरले गीतको गम्भिरता बढाएको छ ।
बुढाभाका, बा–आमाले हेर्छन् मेरै बाटो
शिर निहुराई ढोग्ने मन छ म जन्मेको माटो
अर्ति दिने बुढापाका, खेली हिड्ने साथी
बिर्सिदिन कहिल्यै पनि राख्छु शिर माथी
गीत वियोगान्त बनाईएको छ । विदेशमा पुगेपनि युवकको धन कमाउने सपना अधुरो मात्रै हुँदैन अनाहकमा जेल पर्नु तथा मानसिक तनावले गर्दा मृत्युवरण गर्नु परेको कथालाई भिडियोमा समावेश गरिएको छ । पत्रकारितामा रुचि राख्दै आएका नहर्की पछिल्लो समय रेडियो, छापा पत्रकारितासँगसँगै फुर्सदको समय साहित्य रचनामा पनि जुटिहाल्नहुन्छ । पत्रकारिताका सन्दर्भमा विभिन्न ठाउँ, वस्ती, समाज र मानिसहरुसँग भेट्दाका क्षणहरुलाई उहाँ आफ्ना रचनामा पस्कन रुचाउनुहुन्छ ।

म्युजिक भिडियोलाई सुप्रसिद्ध म्युजिक च्यानल ओएसआर डिजिटल, काठमाडौंको मार्पmत बजारमा ल्याईएको हो । गीतमा स्वर तथा सङ्गीत नवराज थापाको छ । पत्रकार समुन्द्र पौडेलको निर्देशनमा भिडियो तयार पारिएको हो । पत्रकार पौडेलले निर्देशन गरेको यो पहिलो भिडियो हो । म्युजिक भिडियोमा सुदीप पौडेल, पूजा केसी, बोलप्रसाद सुवेदी, तुलसीमाया सुवेदी, सुबास जैसी, तुलसीराम पाण्डे, माधवबहादुर पन्त, भरत पोख्रेल, खुसीराम कैनी लगायतका कलाकारले अभिनय गनुभएको छ । भिडियोको सम्पादन सुवास अम्गाईले गर्नुभएको छ । मोडल सुदीप पौडेलको यो पाँचौ म्युजिक भिडियो हो भने मोडलिङ्गमा सक्रिय पूजाले बिरानो देशबाट म्युजिक भिडियोको यात्रामा प्रवेश गर्नुभएको हो । वैदेशिक रोजगारीले रेमिट्यान्स भित्राएको छ तर यसले हामीलाई कहिल्यै नमेटिने गहिरो चोटहरु पनि दिएकोले सन्देशमूलक गीत लेखेको गीतकार नहर्कीले बताउनुभयो ।
‘दुःखी छु दुःखले छुन चाहन्न
त्यसैले तिम्रो हुन चाहन्न ……’ बोलको राज सिग्देलको स्वर तथा संगीतमा रहेको गीत पनि पत्रकार नहर्कीले लेख्नु भएको हो । पत्रकार नहर्की साहित्यको माध्यमबाट पर्यटन प्रबद्धन गर्नु पछ भन्ने अभियानमा हुनुुहन्छ । तनहुँको भानु नगरपालिका–४ स्थित पर्यटकिय स्थल राना गाउँमा बारेमा उहाँले गीत रचना गर्नुभएको छ ।
प्राणभन्दा प्यारो लाग्छ रानागाउँ हाम्रो
सौन्दर्यले सजिएको संसारकै राम्रो ……………. नहर्कीको यो गीत छोटो समयमा नै युटुवमा दुई लाख पटक हेरिसकिएको छ ।

गीतकार अमरराज नहर्की

उहाँले विभिन्न प्रतियोगितामा भाग लिई पुरस्कृत हुनुभएको छ । गतवर्ष भानु जयन्तीको अवसरमा भानु नगरपालिकाले आयोजना गरेको खुला कविता प्रतियोगितामा नहर्की प्रथम हुनुभएको थियो । यस अघि भानु जन्मस्थल विकास समितिले आयोजना गरेको खुला कविता प्रतियोगितमा पनि नहर्की लगातार दुई पटक पुरस्कृत हुनु भएको थियो । २०५५ सालमा दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसद्धारा आयोजित खुला कविता प्रतियोगितामा पनि नहर्की प्रथम हुनु भएको थियो । पत्रकार नहर्कीले २०७४ सालमा नेपाल सरकार शिक्षा मन्त्रालय,शिक्षा विभाग र नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयले वितरण गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार र २०७१ सालमा शिक्षा लेखनवृत्ति पत्रकारिता पुरस्कार पाउनुभएको छ ।

117Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected