142Shares

पोखरा भ्यूज सम्वाददाता

पोखरा । कार्यक्रममा सहभागीमध्ये ५० प्रतिशतभन्दा बढी व्यक्ति मञ्चमै आसनग्रहण गराउने र आसनग्रहण गरे जति सबैले भाषण ठोक्ने परम्परा नेपाली काँग्रेसका लागि निकै पुरानो हो । भाषण ठोक्नेले आफ्ना कुरा राखेर कार्यक्रमबाट बाहिरिने र कार्यक्रम अत्यासपूर्ण लामो भएपछि सहभागी एकाकाएक कार्यक्रमबाट निस्कदैं गर्दा अन्तिममा कार्यक्रमका प्रमुख अतिथि र सभापति मात्र बाँकी हुन्थे । कोही कसैलाई आगसग्रहण छुट्यो वा मर्यादाक्रममा तलमाथि परे पनि अपमान वोध गर्ने नेता कार्यक्रममा नबसी बाहिरिने प्रचलनमा पनि नेपाली काँग्रेसका कार्यक्रमा देखिंदै आएको विषयवस्तु र सन्दर्भ हो । तर नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सन्दर्भमा आश्विन ९ गतेको पालिका अधिवेशनबाट निर्वाचित पोखरा महानगर समितिले विहीबार पोखरामा आयोजना गरेको वडा दशैं, तिहार, नेपाल सम्वत्, छठ तथा इदपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा फरक र नौलौ प्रयोग देखियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रमुख अतिथी बनेका थिए । कार्यक्रममा गण्डकी प्रदेश सरकारका मन्त्रीद्वय कुमार खड्का र विन्दुकुमार थापा, नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, पूर्वमन्त्रीहरु यज्ञबहादुर थापा र महादेव गुरुङ, कास्की काँग्रेसका सभापति कृष्ण केसी समेतका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । मञ्चमा टन्न नेताहरु मञ्चासिन भए पनि नगर समितिका उपसभापति प्रयागराज भण्डारीले स्वागत मन्तव्य दिए लगत्तै कार्यक्रम सञ्चालक सचिव टुवराज बाँस्तोलाले प्रमुख अतिथि मुख्यमन्त्री पोखरेललाई शुभकामना मन्तव्यका लागि ड्यासमा आमन्त्रण गर्दा कार्यक्रमका सहभागी र मञ्चासिन नेताहरु निच्च परेका थिए । त्यसक्रममा मुख्यमन्त्री पोखरेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सहज ढंगले लिएर पार्टी सुदृढीकरणका लागि एक जुट हुन आहाव्न गरे । उनले एक अर्काको अस्तित्व स्वीकार गरी पार्टीका सांगठानिक गतिविधिमा क्रियाशील हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री पोखरेलको सम्बोधन सकिएपछि कार्यक्रमका सभापति सुरेन्द्रमान विजुक्छेले कार्यक्रम समापन भएको घोषणा गरे र सबै चियामानमा सरिक भएका थिए । यद्यपि बोल्न नपाएका नेताहरूको अनुहारमा कुनै चमक थिएन । वक्ता धेरै हुँदा अत्यास लाग्ने परम्परामा तोडिएकामा केही कार्यकर्ताले नवनिर्वाचित समितिको व्यवस्थापन र नयाँ अभ्यासप्रति धन्यवाद दिएको चर्चा चुलिएको छ । उता बोल्न नपाएका नेताहरुले आक्रोश पोखेका छन् । यद्यपि नगर समितिले बुद्धिमतापूर्ण ढंगले कार्यक्रम सम्पन्न गरेको एक नेताले बताए । प्रदेश सभा, क्षेत्रीय र जिल्ला अधिवेशन हुँदै गरेको अवस्थामा नेताहरुलाई मञ्च दिंदा चुनावी प्रभाव हुने भएकाले मुख्यमन्त्री बाहेक अरु कसैलाई वक्ता नबानाइएको ती नेताले बनाए । अहिले सबै क्षेत्रीय प्रतिनिधिको हैसियतमा रहेकाले पनि सबैलाई समान व्यवहार गरिएको उनको भनाइ छ । नगर समितिको यस्तो अभ्यासलाई विरोध नगरी सहयोग गर्नुपर्ने अन्य नेता तथा कार्यकर्ताको पनि सुझाउ छ । कार्यक्रममा युवाहरुको उपस्थिति न्यून थियो ।

 

142Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected