
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको वैधानिक हैसियत गुमिसकेको दावी गरेका छन् । वरिष्ठ नेता पौडेलले निर्वाचन आयोगको निगाहामा पार्टीको हैसियत नरहने जिकिर गरे ।
शनिबार कैलालीमा आयोजित कार्यक्रममा पौडेलले पार्टी विधान र मुलुकको संविधानअनुसार पार्टीको वैधानिक हैसियत सकिएको बताएका हुन् । ‘पार्टी विधानले ४ वर्ष कार्यकाल तोकेको छ । असाधारण अवस्थामा बढीमा १ वर्ष थप्न पाइने भनेको छ, त्यो पनि गइसक्यो । विधान अनुसार हामी अवैध भइसक्यौं’ उनले भने ।
संविधानले पनि राजनीतिक दलले ५ वर्ष ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको तर कांग्रेसले त्यो अवधि पनि गुजारेको पौडेलको तर्क छ । उनले मंसिर १३ गतेसम्म नयाँ पदाधिकारी नचुनिए पार्टी आगामी चुनावबाट वञ्चित हुन सक्ने चेतावनी दिंदै सभापति शेरबहादुर देउवाका कारण पार्टीमा यो स्थिति आएको पौडेलले बताए ।





















