
पोखरा भ्यूज
६ माघ, काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले कार्यभार सम्हालेका छन् । सत्तागठबन्धनको तर्फबाट साझा उमेद्वार बनेका घिमिरे विहीबार सभामुखमा निर्वाचित भएका थिए ।
उनी झापा २ बाट निर्वाचित सासंद हुन् । एमालेका नेता घिमिरेलाई सत्तारुढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो । उनले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सबै पक्षको सहयोग हुने अपेक्षा रहेको बताएका छन् ।
संसद् सचिवालय सिंहदरबारमा कार्यभार सम्हाल्दै घिमिरेले नयाँ संविधान बनेपछि एक पटक संसद्को अभ्यास गरिसकेको भन्दै यसलाई अझै बढी मर्यादित र व्यवस्थित बनाउने बताए ।
यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए । राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच राष्ट्रपतिले उनलाई शपथ गराएकी हुन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।
नेकपा एमालेका घिमिरे सभामुख चयन भएका थिए । शपथ अघि नै उनले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् । संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले सभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ ।












