
पोखरा भ्यूज
१७ माघ, संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रोको सुरुङ भत्किएर एक जना कामदारको मृत्यु भएको छ । घटनामा अन्य २ जना श्रमिक घाइते भएका छन् ।
पावरहाउस रहेको स्थान चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा मंगलबार बिहान सुरुङ भत्किएर दुर्घटना भएको हो । घटनामा परी मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङ रहेका छन् भने भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।











