
काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आएका भारतका विदेश सचिव विनयमोहन क्वात्राले पहिलो दिन आज राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीका साथै परराष्ट्र सचिवसँग औपचारिक भेटघाट गर्नुभयो ।
आजै उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्नुभयो । भोलि मंगलबार उहाँले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग भेट गर्ने तयारी छ ।
काठमाडौं उत्रिए लगतै राजधानीको पाँच तारे होटेलमा आयोजित परराष्ट्र सचिवस्तरिय बैठकमा सहभागी हुनुभएको क्वात्रा परराष्ट्र मन्त्रालयले आयोजना गरेको दिवाभोजमा सहभागी हुनुभएको थियो । द्विपक्षिय बैठकमा नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
क्वात्राले सोमबार साँझ नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग प्रधानमन्त्री निवास वालुवाटारमा भेट्नुभएको थियो । भेटमा उर्जा, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य, कनेक्टिभिटीलगायत क्षेत्रमा आपसी सहयोगका साथै द्विपक्षित्र सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
यसअघि भारतीय विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग परराष्ट्र मन्त्रालयमा भेट गर्नुभएको थियो । भेटमा नेपालमा विकास सहायता बृद्धि गर्ने, लगानीको वातावरण बनाउने, द्विपक्षिय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत व्यापारलगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा. पौड्यालले बताउनुभयो । उहाँले गौतम बुद्ध र पोखर अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा पनि छलफल भएको जानकारी दिनुभयो ।
त्यसैगरी भारतबाट सामान आउँदा थाह नभइकनै सामानहरू रोकिने समस्या र विद्युत उत्पादन तथा बिक्री बढाउने विषयमा पनि छलफल भएको परराष्ट्रमन्त्री डा. पौड्यालले बताउनुभयो । जलवायु परिवर्तनको असरका बारेमा पनि छलफल भएको जानकारी दिंदै उहाँले जलवायु परिवर्तनको मुद्दामा बलियो संयन्त्र बनाएर अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाली मुलुकको एउटै आवाज बनाउनुपर्नेमा आफूले जोड दिएको बताउनुभयो ।
विदेश सचिवको कार्यभार सम्हालेपछि पहिलो पटक नेपाल आएका नेपालका लागि भारतका पूर्व राजदूत क्वात्राले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेट गर्नुभएको थियो । भेटमा उहाँले भारतीय राष्ट्रपतिको तर्फबाट राष्ट्रपति भण्डारीलाई अभिवादन सुनाउनुभएको थियो । राष्ट्रपति भण्डारीसँगको भेटपछि कांग्रेस सभापति देउवासँग भेट गर्न क्वात्रा बुढानिलकण्ठस्थित देउवा निवास पुग्नुभएको थियो ।











