
पोखरा भ्यूज
२ असार, काठमाडौं । नेपाली कांग्रेसले “घरघर जाऔं, पार्टी सदस्य बनाऔं” भन्ने अभियान सञ्चालन प्रस्ताव अघि सारेको छ । यस अभियान अन्तर्गत पार्टीमा ५ देखि ७ लाख नयाँ सदस्य थप्ने उसको लक्ष्य छ ।
पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राखेका हुन् ।
उनले केन्द्रीय समितिमा पेश गरेको प्रस्तावमा कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने गरी अभियान सञ्चालन गरिनेछ । हाल नेपाली काँग्रेसका ८ लाख ६६ हजार क्रियाशील सदस्य छन् ।
यद्यपि उनीहरुको सदस्यता अझै उपलब्ध भएको छैन । महामन्त्री थापाले साउनभित्र क्रियाशील सदस्य उपलब्ध गराइने बताएका छन् । त्यस लगत्तै भदौ, असोज र कात्तिकमा जिल्ला समितिबाट नवीकरण गराइनेछ ।
नयाँ सदस्यका लागि कांग्रेसले यसअघि नै अनलाइन प्रणाली सुरु गरेको छ । यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाले बताए ।
विभाग थपिने
नेपाली काँग्रेसका हाल २८ वटा विभागहरु कायम रहेका छन् । तर केही विभाग थप्ने प्रस्ताव महामन्त्री थापाले अघि सारेका छन् । यद्यपि कति वटा विभाग थप्ने भन्नेबारे गृहकार्य भइरहेको उनको भनाई छ ।
उनले भदौ १६ भित्र सम्पूर्ण विभागहरुको टुंगो लगाउने बताएका छन् । यसरी विभागहरुले पूर्णता पाएपछि त्यसको हरेक ६र६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्ने महामन्त्रीको प्रस्तावमा उल्लेख छ ।











