२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरखेलकुदस्थानिय समाचार

तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान

पोखरा । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगर प्रमुख धनराज आचार्यले आइतबार नगद रु.२ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गर्नुभएको हो। पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रमका बिच पलेसालाई सो सम्मान प्रदान गरिएको हो।

‘नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको छ, नगर प्रमुख आचार्यले भन्नुभयो, यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय हो। म विश्वास व्यक्त गर्न चाहन्छु, कि ओलम्पिक यात्रामा नेपाली खेलाडीहरूको सफलता अव यसै गरी दर्ज हुँदै जानेछ ।’ भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा गोवर्धनको सफलता महत्त्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।

‘नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ, प्रमुख आचार्यले भन्नुभयो, तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेसाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पुर्‍याएकी छिन्, यो खेलाडीहरूका लागि महत्त्वपूर्ण प्रेरणा हो।’ महानगरपालिकाले प्रदान गरेको सम्मान पलेसा लगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि महत्त्वपूर्ण हुने प्रमुख आचार्यले बताउनुभयो। आइतबार पलेसाका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरिएको छ।

‘हामीले यसअघि पोखरामा सम्पन्न नवौँ संस्करणको राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जित्ने १९२ जना नगरवासी खेलाडीहरू, ३६ जना टिम म्यानेजर र ४० जना प्रशिक्षकहरूलाई समेत नगद सहित सम्मान गनिसकेका छौँ, आज पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेसालाई सम्मान गरेका छौँ, उहाँले भन्नुभयो, पोखरा महानगरपालिका राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूको सदैव साथमा रहनेछ।’ समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेल प्रतिको रुचिको प्रवर्द्धन लगायत गतिविधिहरू सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

नेपालको पर्यटन राजधानी पोखरा खेलकुदको पनि राजधानी सहर भएको उहाँले उल्लेख गर्नुभयो । पोखरा सबै मौसममा हरेक खेल गतिविधिहरू सञ्चालन गर्न सकिने सहरका रूपमा उपयुक्त रहेको बताउँदै उहाँले यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा महानगरपालिकाले सहकार्य गर्दै आइरहेको बताउनुभयो ।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…