
काठमाडौँ — भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणमा भएको व्यापक अनियमिततामा संलग्न भएको आरोपमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा महानिर्देशक अधिकारीसँगै निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा तथा विभिन्न कम्पनीका प्रतिनिधिहरूलाई समेत प्रतिवादी बनाइएको छ।
उनीहरूबाट जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बिगो दाबी गरिएको विशेष अदालतले जनाएको छ। साथै, बिगो असुलासहित कैद सजाय र जरिवानाको माग अभियोगपत्रमा गरिएको छ।
अख्तियारले नलिञ्चोक हेलिप्याडका डिजाइन, निर्माण र भुक्तानी प्रक्रियामा संगठित रूपमा अनियमितता भएको ठहर गर्दै मुद्दा दायर गरेको हो।











